२५ हजार रुपैयाँका नक्कली नोटसहित दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौं । सिरहा प्रहरीले नक्कली नेपाली नोटजस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब ११ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई चेकजाँच गर्दा उक्त रकम फेला परेको हो ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँ रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ५०० रुपैयाँ दरका तीन थान र एक हजार रुपैयाँ दरका २४ थान गरी कुल २५ हजार ५०० रुपैयाँ बराबरका नक्कली नोटजस्तो देखिने रकम बरामद भएको छ ।

बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Share News