काठमाडौं । बाराको अस्पताल उद्घाटनको विषयमा विवादले उग्र रुप लिएपछि गोली चलेको छ। फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको क्रममा विवाद बढेपछि गोली लागेर १५ वर्षीय किशोर आदित्य पासवान घाइते भएका छन् ।
उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको छ ।
झडपका क्रममा करिब १० वटा मोटरसाइकलमा आगजनी भएको छ । नेपाल प्रहरीका दुई जना कर्मचारीसहित दुवै पक्षका केही व्यक्ति घाइते भएका छन्।
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार गाउँपालिका–३ मा नगर अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो । गाउँपालिका अध्यक्षले आयोजना गरेको उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य समीक्षा बास्कोटासमेत सहभागी हुने कार्यक्रम थियो।
तर, अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर स्थानीयस्तरमा पहिलेदेखि नै असन्तुष्टि रहँदै आएको थियो।
गाउँपालिकाले भवन निर्माण गरे पनि लामो समयसम्म सेवा सञ्चालन नगरेको भन्दै असन्तुष्ट पक्षले विरोध गर्दै आएको थिए । उद्घाटन कार्यक्रम नगर्न स्थानीयस्तरबाट सुझावसमेत आएको थियो।
विरोध हुन सक्ने सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी अधिकारीले गाउँपालिका अध्यक्षलाई कार्यक्रम नगर्न सुझाव दिएका थिए। तर, अध्यक्षले कार्यक्रम अघि बढाउने अडान लिएपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरीसमेत परिचालन गरिएको थियो।
बिहान करिब ९ बजे विरोधमा उत्रिएको समूह गाउँपालिका परिसरमा प्रवेश गरेको थियो। तोडफोड र आगजनी हुन थालेपछि अवस्था तनावपूर्ण बनेको अधिकारीले जानकारी दिए। सुरुमा कार्यक्रमस्थल बाहिरै विरोध गर्ने भनिएको भए पनि विवादले राजनीतिक रूप लिँदै उग्रता पाएको प्रमुख जिल्ला अधिकारी उनको भनाइ छ ।
उनले विरोधमा विभिन्न राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूको समेत सहभागिता रहेको प्रारम्भिक जानकारी आएको बताए। गाउँपालिका अध्यक्ष र विरोधमा उत्रिएको पक्षबीचको राजनीतिक तथा स्थानीय असन्तुष्टिले घटनालाई थप जटिल बनाएको देखिएको छ।
झडपका क्रममा करिब १० वटा मोटरसाइकलमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए। घटनामा नेपाल प्रहरीका दुई जना कर्मचारी घाइते भएका छन् भने विरोधमा संलग्न पक्षका दुईदेखि तीन जना सामान्य घाइते भएका छन्।
गोली कसरी र कुन परिस्थितिमा चल्यो भन्ने विषयमा भने प्रहरीले थप अनुसन्धान गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । घटनापछि स्थानीय क्षेत्रमा हालसम्म कर्फ्यु जारी नगरिएको अधिकारीले स्पष्ट पारे। सुरक्षा निकायले अवस्थाको विश्लेषण गरिरहेको र अहिले स्थिति सामान्य बन्दै गएको उनको भनाइ छ।