बढ्यो अण्डाको भाउ, ठूलो अण्डा प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको छ । संघले एक्सएल, ठूलो र मिडियम अण्डाको मूल्य प्रतिकार्टुन २०० रुपैयाँले बढाएको हो ।

संघको कात्तिक १२ गते बसेको बैठकले अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको महासचिव मदन पोखरेलले जानकारी दिएका छन् । संघले चितवनलाई आधार मानेर अण्डाको डिपो तथा डिलर होलसेल बिक्री मूल्य तय गरेको जनाएको छ ।

नयाँ मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अण्डाको मूल्य प्रतिकार्टुन २०० रुपैयाँले बढेको छ भने सानो अण्डाको मूल्य १०० रुपैयाँले वृद्धि भएको छ ।

संघका अनुसार अब एक्सएल अण्डा (१४.५ देखि १४.८ केजी) को प्रतिकार्टुन समर्थन मूल्य ३ हजार ९०० रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ३ हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै, ठूलो अण्डा (१३.५ देखि १३.८ केजी) को मूल्य ३ हजार ६०० रुपैयाँबाट बढेर ३ हजार ८०० रुपैयाँ पुगेको छ । मिडियम अण्डा (१२.५ देखि १२.८ केजी) को मूल्य ३ हजार ५०० रुपैयाँबाट बढेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

सानो अण्डाको मूल्य भने प्रतिकार्टुन ३ हजार १०० रुपैयाँबाट बढेर ३ हजार २०० रुपैयाँ पुगेको छ ।

यसैगरी, संघले उपभोक्ता मूल्यसमेत निर्धारण गरेको छ । जसअनुसार ठूलो अण्डाको मूल्य प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डाको मूल्य दुई गोटाको ४५ रुपैयाँ कायम गरिएको छ । 

Share News