काठमाडौं । प्रहरी संगठनविरुद्ध झुटा अफवाह फैलाएको आरोपमा पत्रकारहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता गोविन्द थपलियाले प्रहरीविरुद्धका सामग्रीलाई गम्भीर अपराधका रूपमा लिएकाले पत्रकारहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
‘प्रहरी संगठनविरुद्ध समाचार लेख्ने सञ्चारमाध्यमविरुद्ध प्रहरी सक्रिय भएको छ,’ उनले विकासन्युजसँग भने ।
थपलियाका अनुसार प्रकाशित सामग्रीले नेपाल प्रहरीका करिब ८० हजार कर्मचारीविरुद्ध नकारात्मक सन्देश फैलाएको छ । त्यस्ता अफवाह फैलाउनेलाई प्रेस काउन्सिलको क्षेत्राधिकारभन्दा बाहिर रहेर पनि प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए ।
समाचार गलत भए प्रेस काउन्सिलमार्फत जानु पर्दैन ? भन्ने विकासन्युजको प्रश्नमा उनले भने, ‘प्रेस काउन्सिलले हेर्ने छुट्टै विषय छ। प्रहरीले कानुनबमोजिम गर्नुपर्ने काम गर्छौं ।’
प्रहरीले नेपालप्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । यस्तै, नेपाल प्रहरीको टोली नयाँ पत्रिकाको कार्यालयमा पनि पुगेको छ । प्रहरीले पत्रकार नवराज मैनालीलाई खोजिरहेको जनाइएको छ ।
यसैगरी डीएनए खबरका धिरज बस्नेत र मोटिभेटन्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई पनि प्रहरीले पक्राउ गरेको छ । दियोपोस्टको कार्यालयमा समेत प्रहरी पुगेको जानकारी प्राप्त भएको छ ।
समाचार कक्षमा प्रहरी, पत्रकार धमाधम पक्राउ