पत्रकारमाथिको धरपकड निन्दनीय: एमाले नेता आचार्य

काठमाडौं । एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले सञ्चारमाध्यममा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने कार्यलाई अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको संज्ञा दिएका छन् ।

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै आचार्यले स्वतन्त्र सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य-मान्यतामाथिको प्रहार भएको बताएका छन् । 

राज्यका निकाय कानुनी शासनको मर्यादाभित्र रहनुपर्नेमा सरकारले नै कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत दमनकारी व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ ।

‘कानुनको शासनको नाममा कानुनको उल्लङ्घन, सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरङ्कुशता स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

एमालेले सञ्चारमाध्यममाथि हुने कुनै पनि प्रकारको गैरकानुनी हस्तक्षेप र धरपकड तत्काल बन्द गर्न तथा सञ्चारगृह र सञ्चारकर्मीको संवैधानिक अधिकार एवं प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न माग गरेको छ । आचार्यले सरकारको कदमको घोर निन्दा तथा भर्त्सना गर्दै प्रेस स्वतन्त्रताको रक्षा र लोकतन्त्र तथा विधिको शासनको सम्मान गर्न आह्वान गरेका छन् ।

Share News