चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकको उजुरी, सरकार एक्सनमा

काठमाडौं । दसैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार दसैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले श्रम ऐनमा भएको व्यवस्थाअनुसार चाडपर्व खर्च नपाएको भन्दै उजुरी गरेका हुन् ।

श्रम ऐन, २०७४ मा वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था छ । श्रमिकले कुनै चाडपर्वका लागि माग गरेको अवस्थामा सोही चाडपर्वमा र माग नगरेको अवस्थामा दसैँमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्छ। एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई भने काम गरेको अवधिको अनुपातमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ। तर, सोही व्यवस्थाअनुसार रोजगारदाता तथा प्रतिष्ठानले चाडपर्व खर्च नदिएको भन्दै श्रमिकले धमाधम उजुरी गरिरहेका छन्।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणी पाण्डेका अनुसार उजुरीपछि ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न रोजगारदाता तथा प्रतिष्ठानलाई कडा निर्देशन दिइएको छ।

उनका अनुसार विभागले दसैँ बिदाअघि नै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) लाई पत्राचार गरेको थियो। विभागले असोज २३ गते ती सङ्गठनलाई पत्र पठाउँदै आफ्ना आबद्ध रोजगारदाता तथा प्रतिष्ठानलाई जानकारी गराएर श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको थियो।

त्यस्तै, असोज २६ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई पत्राचार गरी निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न निर्देशन दिइएको थियो। अहिले पनि उजुरीमाथि आवश्यक कारबाही थालिएको पाण्डेले बताए।

पाण्डेका अनुसार चाडपर्व खर्च नपाएको भन्दै श्रमिकले उजुरी गरेपछि श्रम तथा रोजगार कार्यालय बुटवलले रुपन्देहीस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई रकम भुक्तानी गर्न निर्देशन दिएको थियो। कार्यालयले २०८३ असोज ३० गते अस्पताललाई पत्र पठाउँदै श्रम ऐनअनुसार कर्मचारीलाई चाडपर्व खर्च उपलब्ध गराउन भनेको थियो।

त्यसपछि अस्पतालले २४० जना कर्मचारीलाई चाडपर्व खर्चबापत कुल ४२ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेको विवरण कार्यालयमा पेस गरेको छ। अस्पतालले २०८३ कात्तिक ९ गते पठाएको जवाफमा कर्मचारीलाई असोज २९ गते नै एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम भुक्तानी गरिसकेको उल्लेख गरेको छ। पाण्डेका अनुसार भुक्तानीको पुष्टि गर्न अस्पतालले बैंकिङ कारोबारका प्रमाणित विवरणसमेत पेस गरेको छ।

महानिर्देशक पाण्डेका अनुसार उजुरी प्राप्त भएपछि विभाग र मातहतका कार्यालयले समस्या समाधान गर्न अग्रसरता लिइरहेका छन्। सामाजिक सञ्जालमार्फत आएका गुनासाका आधारमा समेत सम्बन्धित कार्यालयले रोजगारदातासँग सम्पर्क गरी रकम उपलब्ध गराउन पहल गरिरहेको उनले बताए।

उनका अनुसार विभागले सम्बन्धित विद्यालयका प्रधानाध्यापकसँग सम्पर्क गर्दा चाडपर्व खर्च उपलब्ध नगराएको स्वीकार गर्दै तत्काल भुक्तानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्। तर, श्रमिकका गुनासा चाडपर्व खर्चमा मात्र सीमित छैनन्। कतिपय श्रमिकले न्यूनतम पारिश्रमिकसमेत नपाएको र नियमित तलब भुक्तानी नहुने गरेको गुनासो गरेको पाण्डेले बताए।

महानिर्देशक पाण्डेले भने, ‘श्रम ऐन, २०७४ मा वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था छ। श्रमिकले कुनै चाडपर्वका लागि माग गरेको अवस्थामा सोही चाडपर्वमा र माग नगरेको अवस्थामा दसैँमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ। यस विषयमा हामीले दसैँ बिदा हुनुअघि निर्देशन नै दियौँ। रोजगारदाताका छाता सङ्गठनदेखि निजी विद्यालय सञ्चालकका सङ्गठन प्याब्सन र एनप्याब्सनलाई समेत पत्राचार गरेका थियौँ।'    

श्रम ऐनले सुनिश्चित गरेको चाडपर्व खर्च उपलब्ध गराउनु रोजगारदाताको कानुनी दायित्व रहेको बताउँदै उनले ऐनमा भएको व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने बताए। 

Share News