काठमाडौं । कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र सहजै सहुलियत अनुदान मिलाइदिन सक्ने भन्दै विश्वास दिलाएर उनीहरूले विभिन्न बहानामा पटक–पटक गरी उक्त रकम ठगी गरेको आरोप छ ।
जालिम सिंह महतोको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगीसम्बन्धी मुद्दामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोट बस्ने ६० वर्षीय प्रेमनारायण खनाल रहेका छन् । महर्जनलाई तिलक बुढाथोकीका नामले समेत चिनिने प्रहरीले जनाएको छ ।
सीआईबीका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई कात्तिक ११ गते जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।