काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यले तत्काल पद तथा गोपनीयताको शपथ लिन नपाउने भएका छन् । उनीहरूविरुद्धका मुद्दा अदालतमा विचाराधीन रहेकाले शपथ रोक्ने तयारी गरिएको हो ।
कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथ गराउने कार्यक्रम छ । तर, सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवको शपथ भने तत्कालका लागि रोकिने भएको छ ।
कांग्रेसका एक पदाधिकारीका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेकाले उनीहरूलाई अहिले नै शपथ नगराउने समझदारी बनेको छ । अदालतबाट सफाइ पाएपछि उनीहरूले पार्टीको जिम्मेवारी सम्हाल्न पाउने ती पदाधिकारीले बताए ।
खड्का केन्द्रीय सदस्यमा विजयी भए पनि निर्वाचन समितिले उनलाई निर्वाचित भएको औपचारिक घोषणा गरिसकेको छैन । यसले उनको निर्वाचित हैसियतसमेत औपचारिक प्रक्रियामा टुंगिन बाँकी रहेको देखाउँछ ।
यसैबीच, ३५ वर्षमुनिको समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टको शपथ पनि रोक्न माग गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार सौगात थापाले भट्ट ३६ वर्ष पुगेको दाबी गर्दै बुधबार निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।
उमेरसम्बन्धी विवादमा उजुरी परेपछि भट्टको योग्यताबारे पनि प्रश्न उठेको छ । यद्यपि, उनको शपथ रोक्ने वा निर्वाचनसम्बन्धी थप निर्णय गर्ने विषयमा सम्बन्धित निकायको निर्णय आउन बाँकी छ ।