कांग्रेसको नयाँ कार्यसमितिले आज जिम्मेवारी सम्हाल्दै, शपथ ग्रहणको शैली फेरिने

आजै पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टीको नेतृत्व र सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ । नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहणसँगै आजै पदबहाली र केन्द्रीय कार्यसमितिको पहिलो बैठकसमेत गर्ने तयारी गरिएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे शपथ ग्रहण समारोह आयोजना गरिएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिबाहेक नवनिर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिनेछन् ।

नवनिर्वाचित सभापति गगनकुमार थापाले यसअघि नै असोज ३१ गते दसैँको फूलपातीका दिन शपथ ग्रहण गरिसकेका छन् । त्यसैले आजको समारोहमा सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूलाई शपथ गराएर प्रमाणपत्र वितरण तथा पदबहाली गराइनेछ ।

निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटकको शपथ ग्रहण कार्यक्रम विगतका महाधिवेशनभन्दा फरक ढाँचामा हुनेछ । शपथ ग्रहणसँगै प्रमाणपत्र वितरण र पदबहालीसमेत एकै दिन सम्पन्न गर्ने तयारी गरिएको छ ।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा तथा मतदान खुलामञ्च र राष्ट्रिय सभागृहमा गरिएको थियो ।

असोज २३ गते भएको मतदानपछि सोही दिन राति राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना सुरु गरिएको थियो । सभापतिको नतिजा असोज २४ गते बिहान सार्वजनिक भएको थियो भने अन्य पदको मतगणना सोही दिन रातिदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा गरिएको थियो ।

यसपटक निर्वाचनमा ७ हजार ३९२ मतदाता सहभागी भएको निर्वाचन समितिले जनाएको छ । सदस्य सचिव कटुवालका अनुसार १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मतगणना सम्पन्न गर्न १२ दिन लागेको थियो । तर, यसपटक मतदाताको संख्या बढेर ७ हजार ३९२ पुग्दा पनि एक साताभित्रै मतगणना सकिएको हो ।

निर्वाचनमा झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको थियो । कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए । प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

महाधिवेशनबाट गगनकुमार थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित भएका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा। चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन् ।

त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा। डिला संग्रौला ९पन्त० निर्वाचित भएका छन् । विभिन्न समावेशी समूह र अन्य पदमा निर्वाचित सदस्यहरूसहित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि पार्टीको सांगठनिक तथा राजनीतिक जिम्मेवारी अघि बढाउनेछ ।

शपथ ग्रहण र पदबहालीपछि आजै सानेपामा नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तयारी छ । बैठकमा महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिने प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

त्यसैगरी, पार्टीका आगामी सांगठनिक गतिविधि तथा जिल्ला र प्रदेश अधिवेशनका विषयमा पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेसँगै कांग्रेसको आगामी संगठनात्मक कार्यदिशा र अधिवेशनसम्बन्धी तयारीबारे हुने निर्णयलाई चासोका साथ हेरिएको छ । 

Share News