काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्क संकलनसम्बन्धी जानकारी दिएको हो ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार टोल शुल्क संकलन सुरु गर्न लागिएको आयोजनाले जनाएको छ ।
आयोजनाले काठमाडौं भित्रिने र काठमाडौं बाहिरिने सवारीसाधनका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरेको छ । काठमाडौं भित्रिने सवारीसाधनले वर्गअनुसार ६५ रुपैयाँदेखि ६०० रुपैयाँसम्म टोल शुल्क तिर्नुपर्नेछ । त्यस्तै, काठमाडौं बाहिरिने सवारीसाधनले ६० रुपैयाँदेखि २५० रुपैयाँसम्म शुल्क बुझाउनुपर्नेछ ।
आयोजनाले सुरुङमार्ग प्रयोग गर्ने सबै सवारीधनी तथा चालकलाई तोकिएको शुल्क बुझाएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै सडक उपभोग दस्तुर संकलन सुरु हुन लागेको हो । यसबाट सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क तिर्नुपर्ने व्यवस्था लागू हुनेछ ।
