स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु

मृतकको संख्या बढ्ने आशंका

काठमाडौं । स्पेनमा दुई रेल आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । राजधानी म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा पर्ने उर्दा सहरनजिक दुर्घटना भएको हो ।

बीबीसीका संवाददाता गाय हेजकोका अनुसार दुर्घटनामा भएको मानवीय क्षति प्रारम्भिक विवरणभन्दा निकै बढी हुन सक्ने अनुमान गरिएको छ । 

केही सञ्चारमाध्यमले मृतकको संख्या ४६ पुगेको उल्लेख गरे पनि अधिकारीहरूले हालसम्म कम्तीमा १० जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

म्याड्रिडबाट स्पेनको दक्षिणी क्षेत्रतर्फ गइरहेको तीव्र गतिको रेल रोकिराखिएको अर्को रेलसँग ठोक्किएको बताइएको छ । 

ठक्करपछि रेलका कम्तीमा दुईवटा डिब्बा लिकबाट उछिट्टिएर तल खसेका छन् ।

दुर्घटनामा परेको एउटा रेलका यात्रुले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार यात्रा सुरु भएको करिब ४० मिनेटपछि ठूलो आवाजसहित शक्तिशाली धक्का महसुस भएको थियो ।

दुर्घटनास्थलमा अग्निनियन्त्रक, स्वास्थ्यकर्मी तथा आपत्कालीन उद्धार टोली परिचालन गरिएको छ । 

घाइतेहरूको उपचार तथा भग्नावशेषमा फसेका यात्रुको खोजी र उद्धार कार्य जारी छ । उद्धारका लागि तीनवटा हेलिकोप्टरसमेत परिचालन गरिएको छ ।

प्रारम्भिक विवरणअनुसार रेल सञ्चालनका क्रममा संकेत प्रणालीसँग सम्बन्धित मानवीय त्रुटिका कारण दुर्घटना भएको हुन सक्ने सरकारी अनुमान छ । यद्यपि दुर्घटनाको वास्तविक कारण पुष्टि भइसकेको छैन ।

स्पेनको रेल पूर्वाधार व्यवस्थापन निकाय एडिफका अनुसार दुर्घटना सरकारी रेल कम्पनी रेनेफे र निजी रेल कम्पनी इर्योका रेलबीच भएको हो । इर्योले म्याड्रिडदेखि सेभियासम्म रेल सेवा सञ्चालन गर्दै आएको छ ।

एडिफले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटना भएको मार्गमा सञ्चालित सबै रेललाई बीचका स्टेसनमै रोकिएको जानकारी दिएको छ ।

कास्तिया–ला मान्चा क्षेत्रीय सरकारकी प्रवक्ता एस्तेर पाडियाले स्थानीय टेलिभिजनसँग कुरा गर्दै दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको पुष्टि गरेकी छन् । उनले उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताएकी छन् ।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले टोलेडोमा भएको भीषण रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा सन्देश लेख्दै सान्चेजले आफू यातायातमन्त्री र कास्तिया–ला मान्चा क्षेत्रीय सरकारका प्रमुखसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन् ।

उनले दुर्घटनाबाट प्रभावित व्यक्तिहरूको उद्धार, उपचार र सुरक्षा सुनिश्चित गर्न सबै सम्बन्धित सरकारी निकायबीच समन्वय भइरहेको बताएका छन् ।

सान्चेजले भनेका छन्, ‘सबै पीडित र उनीहरूका परिवारप्रति मेरो गहिरो समवेदना, ऐक्यबद्धता र समर्थन छ ।’

दुर्घटनापछि प्रधानमन्त्री सान्चेजसहित स्पेनका अन्य राजनीतिक नेताहरूले बुधबारका लागि तय गरिएका सबै सार्वजनिक कार्यक्रम रद्द गरेका छन् । 

ती कार्यक्रममा आगामी महिना हुने संसदीय निर्वाचनका प्रचारप्रसार कार्यक्रमसमेत समावेश थिए ।

यसअघि जनवरीमा पनि यही रेलमार्गमा दुई रेल ठोक्किँदा ४६ जनाको मृत्यु भएको थियो ।

Share News