इजरायलमा ७७.७ प्रतिशत मतदान, मतगणनामा नेतन्याहुको पार्टी अगाडि

काठमाडौं । इजरायलमा मंगलबार सम्पन्न संसदीय निर्वाचनको मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टी अगाडि देखिएको छ ।

बुधबार बिहानसम्म करिब ४० प्रतिशत मतगणना हुँदा लिकुडले २१.७० प्रतिशत र प्रमुख प्रतिस्पर्धी गादी आइजेनकोटको याशार पार्टीले १५.७२ प्रतिशत मत प्राप्त गरेका छन् ।

निर्वाचनमा ७७.७ प्रतिशत मतदान भएको छ । इजरायलको केन्द्रीय निर्वाचन समितिका अनुसार करिब ५७ लाख मतदाताले मतदान गरेका हुन् । 

यो सन् १९९९ यताकै उच्च सहभागिता हो । सन् २०२२ को तुलनामा मतदान ७.१ प्रतिशत बिन्दुले बढेको छ ।

मतदान सकिएलगत्तै सार्वजनिक सर्वेक्षणमा विपक्षी गठबन्धन अगाडि देखिए पनि रातभर अद्यावधिक भएका प्रक्षेपणमा नेतन्याहु पक्षको स्थिति सुधारिएको छ । 

रोयटर्सका अनुसार पछिल्ला प्रमुख सर्वेक्षणले नेतन्याहु समर्थक गठबन्धनलाई ५१ देखि ५२ र विपक्षी गठबन्धनलाई ४९ देखि ५१ सिट प्राप्त हुने अनुमान गरेका छन् ।

यद्यपि, प्रारम्भिक मतगणनामा नेतन्याहु पक्षको अग्रता सर्वेक्षणको तुलनामा बढी देखिएको छ । 

करिब ३७.४ प्रतिशत मतगणनाका आधारमा गरिएको सिट अनुमानमा नेतन्याहु समर्थक गठबन्धनले ५७, विपक्षीले ४७ र अरब दलहरूले १६ सिट प्राप्त गर्ने देखिएको छ । यी अनुमान मतगणना अघि बढेसँगै परिवर्तन हुन सक्छन् ।

इजरायलको १२० सदस्यीय संसद् नेसेटमा सरकार गठन गर्न कम्तीमा ६१ सिट आवश्यक पर्छ । अहिलेसम्म कुनै पनि पक्षको स्पष्ट बहुमत सुनिश्चित भएको छैन ।

निर्वाचनमा अरब समुदायको सहभागिता पनि उल्लेखनीय देखिएको छ । इजरायली च्यानल १२ का अनुसार अरब मतदाताको सहभागिता करिब ८० प्रतिशत पुगेको छ । 

अरब दलहरूको बढ्दो प्रभावले सरकार गठनको समीकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ ।

नेतन्याहुले समर्थकहरूलाई सम्बोधन गर्दै बलियो दक्षिणपन्थी सरकार गठन गर्ने बताएका छन् । उनले अरब दलहरूको समर्थनमा सरकार गठन गर्ने सम्भावना अस्वीकार गरेका छन् । उता, पूर्वसेना प्रमुख आइजेनकोटले मतदाताले राजनीतिक परिवर्तन चाहेको दाबी गरेका छन् ।

सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछिको यो पहिलो आमनिर्वाचन हो । गाजा युद्ध, इरानसँगको द्वन्द्व र नेतन्याहुको नेतृत्वमाथिको असन्तुष्टि निर्वाचनका प्रमुख मुद्दा बनेका थिए ।

मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी नै छ ।

Share News