कक्रोच पार्टीका दीपकेको आरोप– सरकारले हजारौं इन्स्टाग्राम पोस्ट हटाइरहेको छ

कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके । फाइल तस्बिर ।

काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले इन्स्टाग्राममा प्रकाशित सामग्रीमाथि सरकारले सेन्सरसिप लगाइरहेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेख्दै सरकारले दैनिक हजारौं इन्स्टाग्राम पोस्ट तथा प्रयोगकर्ताका खाता हटाइरहेको दाबी गरेका हुन् ।

उनले लेखेका छन्, ‘इन्स्टाग्राममाथि कारबाही गरेर कुनै फाइदा हुनेवाला छैन । सरकारले हरेक दिन हजारौं पोस्ट र खाता हटाइरहेको छ । तर, सरकारले एउटा आधारभूत कुरा बुझ्न नसकेको जस्तो देखिन्छ ।’

उनका अनुसार इन्स्टाग्राम मानिसहरूले आफ्ना प्रश्न र असन्तुष्टि व्यक्त गर्ने माध्यम मात्रै हो । ती प्रश्न उठ्नुका वास्तविक कारण सामाजिक सञ्जालभन्दा धेरै गहिरा छन् ।

उनले भनेका छन्, ‘प्रयोगकर्ताका खाता हटाउँदैमा ती प्रश्न उठ्नुका कारण समाप्त हुँदैनन् । बरु, यस्तो सेन्सरसिपले सरकारप्रति नागरिकको विश्वास अझ कमजोर बनाउन सक्छ । जनताले उठाएका प्रश्नको जवाफ दिनु सरकारको जिम्मेवारी हो ।’

दीपकेले यो संघर्ष लामो समयसम्म चल्न सक्ने भन्दै त्यसका लागि आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘यो लामो लडाइँ हो र हामी यसका लागि पूर्ण रूपमा तयार छौं ।’

Share News