घर किन्न वा बनाउन नेपाल बैंकको विशेष कर्जा योजना, क्रेडिट कार्ड निःशुल्क

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा विशेष सुविधासहितको आवास कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ९० दिनका लागि ‘नेपाल बैंक सर्वसुलभ आवास कर्जा योजना’ ल्याएको हो ।

बैंकका अनुसार यस योजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण, मर्मत तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन् । कर्जाको ब्याजदर आधार दरमा ०.५ प्रतिशत प्रिमियमबाट सुरु हुनेछ । कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.२५ प्रतिशत मात्रै लाग्ने बैंकले जनाएको छ ।

यस योजनाअन्तर्गत कर्जा लिने ग्राहकले बैंकबाट ५ लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा पाउनेछन् । साथै, लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुटसमेत उपलब्ध हुनेछ ।

बैंकका अनुसार यो योजना २०८३ कात्तिक १५ गतेदेखि २०८३ माघ १५ गतेसम्म लागू हुनेछ । नेपाल बैंक आगामी कात्तिक ३० गते आफ्नो स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ ।

नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले देशभर २३१ शाखा, २५० एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधिको प्रयोग र ग्राहक सेवामा सुधार गर्दै सेवा विस्तार गरिरहेको जनाएको छ । 

Share News