एनपीएल हेर्न एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रौनक देशभर फैलाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिङ्कले ९ सहरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेल यी फ्यान जोनमा ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछन्। फ्यान जोनमा प्रवेश निःशुल्क हुनेछ।

एक्सट्रीमले क्रिकेटप्रेमीलाई आफ्नै सहरमा बसेर एनपीएलको रोमाञ्च अनुभव गराउने उद्देश्यले फ्यान जोनको व्यवस्था गरेको हो। यहाँ समर्थकले साथीभाइसँगै बसेर खेल हेर्न, मनपर्ने टोलीको समर्थनमा हुटिङ गर्न र प्रतियोगिताको उत्साह साटासाट गर्न सक्नेछन्।

काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको दोस्रो गेटअगाडिको मैदानमा फ्यान जोन रहनेछन्। टीयू क्रिकेट मैदानको दोस्रो गेटअगाडि छुट्टै स्थानमा पनि फ्यान जोनको व्यवस्था गरिएको छ।

उपत्यकाबाहिर धनगढीको कभर्ड हल क्षेत्र, सुर्खेतको घण्टाघर डबली, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसरमा फ्यान जोन सञ्चालन हुनेछन्।

त्यस्तै, मधेश प्रदेशको जनकपुरस्थित बाह्रबिघा चौर र पूर्वी नेपालको विराटनगरस्थित पुरानो गुद्री मैदानमा पनि क्रिकेटप्रेमीले ठूलो स्क्रिनमा एनपीएलका खेल हेर्न सक्नेछन्।

एक्सट्रीमले फ्यान जोनलाई खेल हेर्ने स्थानमा मात्र सीमित नराखी मनोरञ्जन र सामूहिक उत्सवको केन्द्र बनाउने तयारी गरेको छ। खेलको प्रत्यक्ष प्रसारणसँगै साङ्गीतिक प्रस्तुति, विभिन्न मनोरञ्जनात्मक गतिविधि र रमाइला खेलकुद कार्यक्रम आयोजना गरिनेछन्। साथै, गिभअवे कार्यक्रममार्फत दर्शकले आकर्षक उपहारसमेत जित्न सक्नेछन्।

रंगशालामा पुगेर खेल हेर्न नसक्ने क्रिकेटप्रेमीलाई समेत प्रतियोगिताको माहोलमा जोड्ने लक्ष्यसहित फ्यान जोन सञ्चालन गर्न लागिएको एक्सट्रीमले जनाएको छ। यी फ्यान जोनले विभिन्न सहरका समर्थकलाई एकै ठाउँमा भेला भएर क्रिकेटको उत्सव मनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

मैदानमा खेलाडीबीच प्रतिस्पर्धा चलिरहँदा फ्यान जोनमा समर्थकको हुटिङ, सङ्गीत र मनोरञ्जनले एनपीएलको रौनक थप्ने विश्वास गरिएको छ।

null 

Share News