राष्ट्र बैंकसम्म पुग्यो पीएचपीको धक्का

वेबसाइट र अनलाइन सेवा बन्द

काठमाडौं। वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकको वेबसाइट लगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।

केन्द्रीय बैंकले कार्तिक ६ गते एक सूचना जारी गर्दै सम्भावित सुरक्षा खतराबाट जोगिन र प्रविधि सबलीकरणका लागि आफ्ना अनलाइन सेवाहरू स्थगन गरिएको जनाएको हो ।

प्रविधिमा आएको यस समस्याका कारण बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति राष्ट्र बैंकले क्षमाप्रार्थी प्रकट गरेको छ ।

यस अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना वा जानकारी प्राप्त गर्नका लागि बैंकको आधिकारिक सामाजिक सञ्जालको प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

साथै, उक्त सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राष्ट्र बैंकले देशभरका सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ । सर्भरमा प्रयोग भइरहेका प्रणालीहरूलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन पनि केन्द्रीय बैंकले विशेष निर्देशन दिएको छ ।

Share News