राष्ट्र बैंकले बैंकहरुलाई भन्यो : सुरक्षा जोखिम छ, सतर्क रहनू

काठमाडौं । वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सर्भरमा प्रयोग भइरहेका प्रणालीहरूलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पिएसपी) र विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूलाई अपिल गरेको हो ।

उक्त सुरक्षा जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइट लगायतका सेवाहरू पनि अस्थायी रूपमा बन्द गरिएको जनाएको छ । यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति राष्ट्र बैंकले क्षमाप्रार्थी रहेको उल्लेख गरेको छ।

वेबसाइट बन्द रहेको अवधिभर नेपाल राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना वा जानकारीका लागि बैंकको आधिकारिक सामाजिक सञ्जाल मार्फत उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

डिजिटल प्रणालीमा हुनसक्ने सम्भावित साइबर आक्रमण वा प्राविधिक जोखिमबाट जोगिन राष्ट्र बैंकले सूचना जारी गर्दै वित्तीय क्षेत्रका सम्पूर्ण निकायहरूलाई आफ्नो प्राविधिक पूर्वाधार चुस्त र सुरक्षित राख्न आग्रह गरेको हो ।

Share News