काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकको अवस्थामा रहेको नेपाली समाजलाई अझ सुदृढ र एकताबद्ध बनाउन विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । बडादसैँ, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुन सबैलाई आग्रह गरेका हुन् ।
लामिछानेले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको विजयादशमीले निराशाबाट आशा र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न ऊर्जा प्रदान गर्ने उनको विश्वास छ ।
यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै लामिछानेले प्राकृतिक तथा अन्य विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै विपत्तिका कारण घरबारविहीन र विस्थापित भएका परिवारको अवस्थाप्रति दुःख व्यक्त गरेका छन् ।
संकटको यस संवेदनशील समयमा विजयादशमीले नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
लामिछानेले नवदुर्गा भवानीसँग सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको सर्वोपरि हितमा निःस्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि र संकटसँग जुध्ने साहस प्रदान गर्न प्रार्थना गरेका छन् ।
सत्यको विजयको सन्देश बोकेको यस पर्वले सबैमा सकारात्मक ऊर्जा र नयाँ आशा सञ्चार गर्दै विपत्तिबाट उठेर पुनर्निर्माण र समृद्धिको यात्रामा अघि बढ्न प्रेरणा दिने उनको शुभकामना सन्देशमा उल्लेख छ ।
यस्तो छ उनको शुभकामना
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश बोकेको नेपालीहरूको महान् चाड बडादसैँ (विजयादशमी), २०८३ को पुनीत अवसरमा म मेरो व्यक्तिगत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वदेश तथा प्रवासमा रहनुभएका सम्पूर्ण आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
यस वर्षको बडादसैँ हामी विपत्ति र शोकको घडीमा मनाउँदै छौँ। धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको छ भने हजारौँ परिवार घरबारविहीन र विस्थापित भएका छन् । यस दुःखद घडीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। संकटको यस संवेदनशील परिस्थितिमा मलाई विश्वास छ- विजयादशमीको यस महान् पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिंगो नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुनेछ ।
नवदुर्गा भवानीले हामी सबैलाई आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, राष्ट्र र जनताको सर्वोपरि हितमा नि:स्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि र जस्तोसुकै संकटसँग जुध्ने अदम्य साहस प्रदान गरून्।
असत्यमाथि सत्यको विजयको यस महान् पर्वले हामीलाई निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस्।
सकारात्मक ऊर्जा र नयाँ आशासहित, बडादसैँको हार्दिक शुभकामना !