दशैंको शुभकामना दिँदै प्रधानमन्त्रीले भने : भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति हटाउन एकजुट हुनुपर्छ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न आवश्यक रहेको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री शाहले हरेक नागरिकले सरकार आफ्ना लागि छ भन्ने अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट मात्रै समाजमा रहेका विकृति हटाउन सकिने उनको भनाइ छ ।

विजयादशमीको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै प्रधानमन्त्री शाहले यस पर्वले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने बताएका छन् ।

उनले विजयादशमीलाई असत्यमाथि सत्यको विजयका रूपमा व्याख्या गर्दै पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसंग स्मरण गरेका छन् ।

प्रधानमन्त्री शाहले विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले असल कर्ममा सफलता प्राप्त गर्ने प्रेरणा दिने उल्लेख गरेका छन् । टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्ने यस पर्वको परम्पराले पारिवारिक सम्बन्ध र आत्मीयतालाई थप बलियो बनाउने उनको भनाइ छ ।

उनले विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन् । वर्षौँदेखि भेटघाट हुन नसकेका साथीभाइ तथा आफन्तसँग आत्मीयता साटासाट गर्ने अवसरका रूपमा पनि यस पर्वको महत्त्व रहेको उनले बताएका छन् ।

प्रधानमन्त्री शाहले सबैलाई आआफ्नो क्षमता र अवस्थाअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साट्न आग्रह गरेका छन् । उनको शुभकामना सन्देशको अन्त्यमा ‘जय दुर्गा भवानी’ उल्लेख गरिएको छ ।

Share News