काठमाडौं । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन र पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। अन्तर्राष्ट्रिय होटल ब्रान्डको तुलनामा करिब ५० प्रतिशत कम शुल्कमा स्तरीय आतिथ्य सेवा उपलब्ध गराउँदै आएको समूहले होटल सञ्जाललाई देशभर विस्तार गर्ने योजना अघि बढाएको छ।
आइएमई हस्पिटालिटीले हाल नवलपुरको गैँडाकोटमा ६५ कोठाको इला रिसोर्ट, हर्कपुरमा ३५ कोठाको इला कम्फर्ट र बागलुङ बजारमा ३० कोठाको इला कम्फर्ट सञ्चालन गरिरहेको छ। कैलालीमा सुरुमा २० कोठा र पछि थप ६५ कोठा विस्तार गर्ने योजनासहित इला लज सञ्चालनको तयारी छ। त्यस्तै, पाल्पाको वसन्तपुरमा १२० कोठाको इला रिसोर्ट सञ्चालनमा ल्याउने योजना रहेको छ।
पोखरामा ३५ कोठाको द लेक साइड रिट्रिट सञ्चालनमा छ भने काठमाडौंको लाजिम्पाटमा १०० कोठाको इला होटल सञ्चालनको तयारी भइरहेको छ। यसैगरी, आइएमई समूहअन्तर्गत चन्द्रागिरि हिल्समा १२० कोठाको रिसोर्ट लामो समयदेखि सञ्चालनमा छ।
नवलपुरको गैँडाकोटस्थित इला रिसोर्टमा सोमबार आयोजित पत्रकारसँगको अन्तरक्रियामा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रियस्तरको सेवा सर्वसुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले इला ब्रान्ड विस्तार गरिएको बताए।
‘अन्तर्राष्ट्रियस्तरको सेवा हामी सर्वसुलभ रूपमा दिएका छौँ,’ उनले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डले लिने शुल्कभन्दा आधा मूल्यमा सोही स्तरको सेवा उपलब्ध गराइरहेका छौँ।’
ढकालका अनुसार इला हस्पिटालिटीमा विदेशमा कामको अनुभव हासिल गरेका ३० प्रतिशतभन्दा बढी कर्मचारी छन्। दक्ष जनशक्ति तयार गर्न समूहले आफ्नै प्राविधिक तालिम केन्द्र ‘काठमाडौं टेक्निकल स्कुल’ सञ्चालन गरिरहेको छ। उक्त केन्द्रबाट तालिम प्राप्त कुक, वेटर र हाउसकिपिङ जनशक्तिले होटलहरूमा सेवा दिँदै आएका छन्।
‘दक्ष जनशक्तिकै कारण हाम्रा होटलहरू अन्तर्राष्ट्रियस्तरका अन्य ब्रान्डसँग प्रतिस्पर्धी बन्न सकेका छन्,’ ढकालले भने।
सातै प्रदेशमा पर्यटकीय पूर्वाधार विस्तार गर्ने योजना
अध्यक्ष ढकालले नेपालका सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका पर्यटकीय पूर्वाधार र होटल सञ्जाल विस्तार गर्न सके विदेशी पर्यटकको नेपाल बसाइ अवधि दोब्बर बनाउन सकिने बताए।
चन्द्रागिरिमा केबलकार, रिसोर्ट, थिमपार्क, थ्रीडी पार्क र मन्दिरलगायतका पूर्वाधार विकासबाट प्राप्त अनुभवले देशका अन्य क्षेत्रमा पनि यस्ता परियोजना विस्तार गर्न प्रेरित गरेको उनको भनाइ छ।
‘चन्द्रागिरिजस्तै पर्यटकीय पूर्वाधार कम्तीमा सातै प्रदेशमा बनाउन सकियो भने नेपाल आउने पर्यटकको बसाइ अवधि ठ्याक्कै दोब्बर बनाउन सकिन्छ भन्ने हाम्रो सोचाइ हो,’ उनले भने।
नेपालमै अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा उपलब्ध गराउने र स्वदेशी होटल ब्रान्ड विकास गर्ने उद्देश्यले ‘इला’ सञ्चालनमा ल्याइएको उनले बताए। समूहको व्यावसायिक सञ्जाल र अनुभव उपयोग गर्दै आफ्नै होटल चेन विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।
इला होटलले स्थानीय वातावरण र पर्यटकीय सम्भावनालाई उपयोग गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। गर्मी क्षेत्रबाट पहाडी तथा पर्यटकीय गन्तव्यमा पुगेर चिसो मौसमको अनुभव लिन सकिने वातावरण, वन्यजन्तु सफारी र धार्मिक पर्यटनलाई जोडेर पर्यटक आकर्षित गर्ने योजना रहेको ढकालले बताए।
व्यवसाय विस्तार गर्दा सरकारी प्राथमिकता, सर्वसाधारणको चाहना र व्यावसायिक दिगोपनलाई मुख्य आधार बनाइएको उनले उल्लेख गरे। निजी क्षेत्रको लगानीबाट ठूला पर्यटकीय परियोजना सञ्चालन गर्दा रोजगारी सिर्जना हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने उनको विश्वास छ।
केबलकार र होटलमा लगानी विस्तार गर्दै आइएमई
आइएमई समूहले पर्यटन पूर्वाधारअन्तर्गत चन्द्रागिरि, मौलाकालिका र लुम्बिनी केबलकार सञ्चालनमा ल्याइसकेको छ। कैलालीको चिसापानीमा जालपादेवी केबलकार सञ्चालन गर्ने तयारी भइरहेको छ भने पाथीभरा केबलकारको निर्माण कार्य करिब ६० प्रतिशत सम्पन्न भएको जनाइएको छ।
त्यस्तै, देवघाटबाट मौलाकालिका जोड्ने गरी अर्को केबलकार निर्माण भइरहेको छ भने कास्कीको सिक्लेसमा केबलकार निर्माण प्रक्रिया अघि बढाइएको छ। कर्णालीको रारामा होटल सञ्चालन गर्ने तयारी गरिएको छ भने मधेस प्रदेशमा पर्यटकीय पूर्वाधार निर्माणका लागि अध्ययन भइरहेको छ।
इला हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले दक्ष कर्मचारी, आधुनिक सुविधा र गुणस्तरीय सेवामार्फत अन्तर्राष्ट्रिय चेन होटलको तुलनामा करिब ५० प्रतिशत कम शुल्कमा सेवा उपलब्ध गराइरहेको बताए।
विदेशमा हासिल गरेको ज्ञान र सीपलाई उपयोग गरी नेपाल फर्किएका तथा कम्पनीले आफैँ तयार गरेका जनशक्तिबाट सेवा प्रदान भइरहेको उनले जानकारी दिए। हस्पिटालिटी क्षेत्रमा २० वर्ष विदेशमा काम गरेको अनुभवसहित आफू इला हस्पिटालिटीमा जोडिएको बताउँदै थापाले नेपालका विभिन्न होटलमा काम गर्दा प्राप्त अनुभवले गुणस्तरीय सेवा दिन सहयोग पुगेको उल्लेख गरे।
इलाका होटलहरू रमणीय पर्यटकीय गन्तव्यमा रहेकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ।