काठमाडौं । वैदेशिक रोजगारीमा जान लागेका यात्रुसँग पुनः श्रम स्वीकृति गराइदिने नाममा अतिरिक्त रकम असुलेको आरोपमा हिमालय एयरलाइन्सका एक कर्मचारीलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले .हिमालय एयरलाइन्सका कर्मचारी हंशराज जैशीलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाएको हो ।
कार्यालयका अनुसार असोज २६ गते वैदेशिक रोजगारीमा जान लागेका मीनबहादुर रावतको श्रम स्वीकृतिको म्याद समाप्त भएको थियो ।
सोही क्रममा पुनः श्रम स्वीकृति गराइदिने भन्दै उनीसँग अतिरिक्त रकम असुल गरिएको उजुरी कार्यालयमा फोनमार्फत प्राप्त भएको थियो ।
उजुरीपछि कार्यालयले गरेको प्रारम्भिक छानबिनमा जैशीको मोबाइल नम्बरमा रहेको ई–सेवा खातामा १४ हजार रुपैयाँ कारोबार भएको पाइएको छ ।
उक्त रकम ई–सेवा कारोबार सन्दर्भ नम्बर ३२४४८४०४४ मार्फत पठाइएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ई–सेवाको कारोबार विवरणसँगै विमानस्थलको सीसीटीभी फुटेजसमेत अध्ययन गर्दा जैशीले यात्रुलाई सहजीकरण गर्ने बहानामा शंकास्पद गतिविधि गरेको देखिएको हो ।
प्रारम्भिक छानबिनबाट शंकास्पद गतिविधि देखिएपछि उनीमाथि थप अनुसन्धान गरी आवश्यक कानुनी कारबाही अघि बढाउन विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाइएको अध्यागमन कार्यालयले स्पष्ट पारेको छ ।
अध्यागमन क्षेत्रमा हुने अनियमितताविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै नीतिगत, व्यवहारगत, प्रणालीगत, प्रविधिगत तथा कार्यान्वयन तहसम्म सुधारका काम अघि बढाइएको कार्यालयको भनाइ छ ।
त्यस्तै, अध्यागमनसम्बन्धी प्राप्त हुने उजुरी तथा गुनासाको तत्काल छानबिन गरी आवश्यक कारबाही गर्ने कार्यलाई निरन्तरता दिइएको पनि कार्यालयले जनाएको छ ।