काठमाडौं । नेकपा (एमाले) का १३ मनोनीत केन्द्रीय कमिटी सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराउनेछन् ।
गत शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार मनोनीत भएका सदस्यहरूलाई आज शपथ गराउन लागिएको हो ।
मनोनीत हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा) र डा. पुष्पा केसी भण्डारी (कास्की) छन् ।
त्यस्तै, धर्मनाथप्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) पनि मनोनीत भएका छन् ।
मनोनीत १३ सदस्यले शपथ लिएपछि एमालेको केन्द्रीय कमिटीमा उनीहरूको औपचारिक जिम्मेवारी सुरु हुनेछ ।