काठमाडौं । दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनका क्रममा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसहित विपक्षी नेता, कार्यकर्ता, वकिल र पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले मतदाता सूचीमा अनियमितता र ‘भोट चोरी’को आरोप उठाउँदै निर्वाचन आयोगको जवाफदेहिता मागेका छन् ।
शनिबार दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरिएको थियो । तर, प्रदर्शनकारीलाई त्यहाँ पुग्न नदिन प्रहरीले विभिन्न स्थानमा अवरोध खडा गरेपछि राजधानीका फरक–फरक क्षेत्रमा विरोध प्रदर्शन भएका छन् । प्रहरीले विमानस्थलदेखि सडक, गुरुद्वारा आसपास र अदालत क्षेत्रसम्म निगरानी बढाएको समाचारमा उल्लेख छ ।
प्रदर्शनको आह्वान गरेको ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपके, सहसंयोजक सौरव दास र आशुतोष रांकालाई दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट ओर्लनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको पार्टीले जनाएको छ । उनीहरू मुम्बईबाट दिल्ली पुगेका थिए ।
सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको थियो । पार्टीका शीर्ष नेताहरू पक्राउ परेपछि प्रदर्शनको नेतृत्व गर्ने जिम्मेवारी अजिंक्य शिन्देलाई दिइएको पार्टीले जनाएको छ ।
प्रदर्शनकारीलाई रोक्न प्रहरीले गरेको कारबाही र विपक्षी नेताहरूको प्रतिक्रियाले दिल्लीमा राजनीतिक तनाव बढाएको छ । विपक्षी नेताहरूले सरकारमाथि लोकतान्त्रिक अधिकार कुण्ठित गरेको आरोप लगाएका छन् भने भारतीय जनता पार्टी (भाजपा) ले प्रदर्शनलाई देशमा अस्थिरता सिर्जना गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।
‘मोदीको तानाशाहीसँग डराउँदैनौं’
प्रहरीले नियन्त्रणमा लिएपछि आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले भिडियो सार्वजनिक गर्दै सरकारको आलोचना गरेका छन् । उनले युवा जागिसकेको र कथित मत चोरीलाई अब सहन नसकिने बताएका छन् ।
‘देशका युवा जागिसकेका छन् । हामी मोदीजीको तानाशाहीसँग डराउने छैनौं । अब ज्ञानेश कुमारले राजीनामा दिनैपर्छ,’ केजरीवालले भिडियोमा भनेका छन् ।
केजरीवाल पार्टीका नेताहरूसँगै जन्तरमन्तरतर्फ अघि बढिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीसँगै राज्यसभाका सांसद सञ्जय सिंह पनि देखिएका थिए ।
नेता सौरभ भारद्वाजले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रहरीले पार्टीका राष्ट्रिय संयोजक केजरीवालसँग धक्कामुक्की गरेको आरोप लगाएका छन् ।
यसअघि कांग्रेस नेता राहुल गान्धीले पनि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गरेका थिए । उनले संसद्को केन्द्रीय कक्षमा दिएको भाषणको भिडियो सार्वजनिक गर्दै ज्ञानेश कुमार पदबाट जाने र त्यसपछि लोकतन्त्रको पुनर्निर्माण सुरु हुने बताएका छन् ।
ममता बनर्जी पनि प्रहरी नियन्त्रणमा
भारतीय सञ्चार माध्यमका अनुसार पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जीलाई पनि दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ ।
ममता बनर्जीसहित पाँच जनालाई साउथ एभिन्युस्थित उनको निवासबाहिरबाट दिल्ली प्रहरी र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) ले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई कहाँ लगिएको हो भन्ने जानकारी खुल्न सकेको छैन ।
समाचार एजेन्सी पीटीआईका अनुसार ममता बनर्जी र तृणमूल कांग्रेसका अन्य नेताहरूले साउथ एभिन्युस्थित बस बिसौनीमा धर्ना दिएका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले नियन्त्रणमा लिनुअघि ममता बनर्जीले आफूहरू जन्तरमन्तर जान चाहेको तर अनुमति नपाएको बताएकी थिइन् । उनले दिल्लीको अवस्थालाई संकटकालको समयभन्दा पनि खराब भएको टिप्पणी गरेकी थिइन् ।
जन्तरमन्तरमा पुगेर प्रदर्शन गर्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले दिल्लीको गुरुद्वारा बंगला साहिबनजिकै रोकेको थियो । त्यसक्रममा प्रहरीले लाठीचार्ज गरेको र धेरैलाई नियन्त्रणमा लिएको प्रदर्शनकारीले आरोप लगाएका छन् ।
प्रदर्शनमा सहभागी हुन शुक्रबारदेखि दिल्ली आइपुगेका मानिसहरू गुरुद्वारामा बसेका थिए । प्रदर्शनकारीका अनुसार शनिबार बिहानसम्म त्यहाँ करिब ६०० जना थिए । तीमध्ये करिब ३०० जनालाई प्रहरीले नियन्त्रणमा लिएको उनीहरूको दाबी छ ।
हैदराबादबाट आएका सफ्टवेयर इन्जिनियर अजय जिंगाडेले बिहानैदेखि प्रदर्शनकारीले जन्तरमन्तरतर्फ जाने प्रयास गरे पनि ठूलो संख्यामा खटिएको प्रहरीले रोकेको उल्लेख गरेका छन् । उनका अनुसार प्रदर्शनकारीमाथि लाठीचार्ज गरिएको थियो ।
आन्ध्र प्रदेशको वारंगलबाट आएका सीजेपी सदस्य चेतन प्रमोदले प्रहरी गुरुद्वाराको गेट नम्बर ३ बाट प्रवेश गरी प्रदर्शनकारीलाई जबर्जस्ती बाहिर निकाल्न खोजेको आरोप लगाएका छन् । शान्तिपूर्ण रूपमा बसिरहेका मानिसलाई समेत नियन्त्रणमा लिन खोजिएको उनको दाबी थियो ।
गुरुद्वारा आसपास दिल्ली प्रहरी, सीआरपीएफ र ¥यापिड एक्सन फोर्सका सुरक्षाकर्मी परिचालन गरिएका थिए । सडकमा अवरोधक राखिएका थिए भने दंगा नियन्त्रणका सवारीसाधनसमेत तैनाथ गरिएको समाचारमा उल्लेख छ ।
जन्तरमन्तरको सट्टा दिल्ली हाटमा प्रदर्शन
प्रदर्शनकारीलाई जन्तरमन्तर पुग्न कठिन भएपछि सामाजिक अभियन्ता तथा अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोराले दिल्ली हाटमा भेला हुन आह्वान गरेकी थिइन् ।
उनले सामाजिक सञ्जाल एक्समा ‘आज दिल्ली हाट नै जन्तरमन्तर बनेको छ, त्यहीँ भेटौँ’ भन्ने आशयको सन्देश लेखेकी थिइन् । त्यसपछि उनी दिल्ली हाटमा प्रदर्शन गरिरहेको अवस्थामा देखिएकी थिइन् । उनीसँगै सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण र सामाजिक–राजनीतिक अभियन्ता योगेन्द्र यादव पनि सहभागी भएको समाचारमा उल्लेख छ ।
सीजेपीले पनि आफ्ना समर्थकलाई जन्तरमन्तर पुग्न आग्रह गर्दै भिडियो सार्वजनिक गरेको थियो । पार्टीका नयाँ नामित नेता अजिंक्य शिन्देले प्रहरीले जहाँ रोके पनि त्यही ठाउँलाई जन्तरमन्तर बनाएर विरोध गर्नुपर्ने बताएका थिए ।
सर्वोच्च अदालतका वकिलसमेत पक्राउ
प्रदर्शनका क्रममा सर्वोच्च अदालत आसपासबाट केही अधिवक्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ । पक्राउ पर्नेमा सर्वोच्च अदालतकी वधिवक्ता अन रेकर्ड सुमिता हजारिका पनि रहेको बताइएको छ ।
बार एन्ड बेन्चका अनुसार सर्वोच्च अदालत परिसर र वकिलका चेम्बर आसपासबाट कम्तीमा चार जना अधिवक्ता पक्राउ परेका थिए । उनीहरूलाई कहाँ लगिएको हो भन्ने जानकारी नदिइएको समाचारमा उल्लेख छ ।
पत्रकार र युट्युबर पनि प्रहरी नियन्त्रणमा
प्रदर्शनको समाचार संकलनमा खटिएका केही पत्रकारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । न्युजलन्ड्री, स्क्रोल डट इन र नवभारत टाइम्ससँग आबद्ध पत्रकारहरू पक्राउ परेका थिए । न्युजलन्ड्रीले सार्वजनिक गरेको वक्तव्यमा पत्रकारले आफूहरू सञ्चारकर्मी भएको जानकारी गराउँदा पनि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको र मोबाइल फोनसमेत खोसेको आरोप लगाइएको छ ।
स्क्रोल डट इनका अनुसार उसको एक पत्रकार जन्तरमन्तरमा नभई आईटीओ क्षेत्रनजिकै रहेका बेला पक्राउ परेका थिए । प्रेस कार्ड देखाएर आफू पत्रकार भएको जानकारी गराउँदासमेत प्रहरीले भ्यानमा राखेर लगेको संस्थाको दाबी छ ।
नवभारत टाइम्सका सम्पादक आशीष पाण्डेले आफ्नो संस्थाका दुई पत्रकार पक्राउ परेको बताएका छन् । पछि उनले ती पत्रकार रिहा भएको जानकारी दिएका थिए ।
प्रदर्शनअघि चर्चित युट्युबर ध्रुव राठीलाई पनि गुरुग्रामको सेक्टर–५६ बाट नियन्त्रणमा लिइएको समाचारमा उल्लेख छ । सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई प्रदर्शनकारी वकिलसँग सहभागी हुन जाने क्रममा पक्राउ गरिएको पार्टीका सहसंयोजक सौरव दासले बताएका छन् ।
दिल्ली विश्वविद्यालय विद्यार्थी संघका पूर्वअध्यक्ष रौनक खत्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको दाबी गरिएको थियो ।
यातायात प्रभावित
प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका रेलवे स्टेसन, होटल, प्रमुख सीमा नाका र संवेदनशील क्षेत्रमा निगरानी बढाइएको थियो। फिरोज शाह रोड, मण्डी हाउस र दिल्ली–नोएडा सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको समाचारमा उल्लेख छ ।
दिल्लीका दक्षिणी जिल्ला प्रहरी प्रमुख अनन्त मित्तलले प्रदर्शनको आह्वानलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा बनाइएको बताएका थिए । उनका अनुसार विभिन्न सीमा क्षेत्रमा करिब १२ वटा प्रहरी चेकपोस्ट स्थापना गरिएका थिए ।
कांग्रेस सांसद शशि थरुरले भने सुरक्षा व्यवस्थाको आलोचना गरेका छन्। उनले राजधानीमा प्रहरी र अर्धसैनिक बलको तैनाथी युद्धकालीन अवस्थाजस्तै देखिएको टिप्पणी गरेका छन् ।
थरुरले सामाजिक सञ्जालमा लेख्दै दिल्लीमा २२ हजार प्रहरी तथा अर्धसैनिक बल परिचालन गरिएको, २५० रेल रद्द गरिएको र मेट्रोका ४५ स्टेसन बन्द गरिएको दाबी गरेका छन् ।
यसैबीच, दिल्ली मेट्रोका केही स्टेसन बन्द गरिएको र रेल सेवा रद्द गरिएको विषयमा सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गरिएको समाचारमा उल्लेख छ । निवेदनमा सम्बन्धित अधिकारीहरूले यातायात सेवा पूर्ण रूपमा बन्द नगर्नेसम्बन्धी अदालतको निर्देशन उल्लंघन गरेको आरोप लगाइएको छ ।
भाजपा भन्छ- देश अस्थिर बनाउने प्रयास
सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले सीजेपीको प्रदर्शनलाई देशमा अस्थिरता सिर्जना गर्ने प्रयास भनेका छन् ।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राहुल गान्धी नेतृत्वको विपक्षी गठबन्धन र अरविन्द केजरीवालसँग निकट सीजेपीका गतिविधिले देशमा अशान्ति निम्त्याउन खोजेको आरोप लगाएका थिए ।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतलाई भयको वातावरणबाट बाहिर निकालिएको दाबी गर्दै देशलाई अस्थिर बनाउने प्रयास सफल हुन नदिने बताएका थिए ।
भाजपाको यो प्रतिक्रियाले निर्वाचन आयोगको निष्पक्षतामाथि उठाइएको प्रश्न र त्यसविरुद्ध भइरहेको प्रदर्शनलाई लिएर सत्तापक्ष र विपक्षबीचको राजनीतिक टकराव थप चर्किएको संकेत गरेको छ ।
निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न
दिल्लीमा भएको प्रदर्शनको केन्द्रमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग छ । प्रदर्शनकारीले मतदाता सूचीमा कथित अनियमितता र भोट चोरीका आरोप उठाउँदै निर्वाचन आयोगसँग जवाफ मागेका छन् ।
राहुल गान्धी र केजरीवालले ज्ञानेश कुमारको राजीनामाको माग दोहो¥याएका छन् । केजरीवालले सरकारमाथि लोकतान्त्रिक अधिकार कुण्ठित गरेको आरोप लगाएका छन् भने कांग्रेस सांसद थरुरले नागरिकलाई शान्तिपूर्ण रूपमा प्रश्न उठाउन दिनुपर्ने बताएका छन् ।