नक्कली शैक्षिक प्रमाणपत्रबाट नियुक्ति र बढुवा लिएको आरोपमा तिवारीविरुद्ध मुद्दा

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमन प्रसाद तिवारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तिवारीले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको भनिएको आईए तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिएको आरोप छ ।

आयोगका अनुसार तिवारीले खोप सुपरभाइजरको राजपत्र अनंकित प्रथम श्रेणीको पदमा नियुक्ति लिन उक्त प्रमाणपत्र पेस गरेका थिए । पछि माथिल्लो तहका विभिन्न पद र श्रेणीमा बढुवा हुनसमेत पटक–पटक सोही प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ ।

नक्कली प्रमाणपत्रकै आधारमा बढुवा भई उनले राष्ट्रसेवकको पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको आरोपपत्रमा उल्लेख छ ।

तिवारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सजाय माग गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

आयोगले तिवारीलाई कानुनबमोजिम कैद र जरिवाना सजाय गर्न मागदाबी गरेको छ  आरोपको अन्तिम निरूपण भने अदालतबाट हुनेछ । 

Share News