४ करोडको बैंकिङ कसुरमा दोषी ठहर भएका न्यौपाने पक्राउ

काठमाडौं । चार करोड रुपैयाँ बिगो रहेको बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६३ वर्षीय दीपक चन्द्र न्यौपानेलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–३ का न्यौपाने बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका थिए । झापा जिल्ला अदालतले २०८१ वैशाख ७ गते उनलाई सजाय सुनाएको थियो ।

अदालतको फैसलाअनुसार न्यौपानेले चार करोड रुपैयाँ बिगो तिर्नुपर्नेछ । साथै, बिगोबमोजिम जरिवाना र एक महिना १५ दिन कैद सजाय पनि तोकिएको थियो ।

तर, सजाय कार्यान्वयन नभएपछि उनी फरार रहेका थिए । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरेको थियो ।

सीआईबीबाट खटिएको प्रहरी टोलीले असोज २२ गते भक्तपुर नगरपालिका–१, सृजनाटोलबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका न्यौपानेलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ । 

Share News