काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएको आरोप छ ।
वली काठमाडौंको नापी कार्यालय, डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली माछापोखरीमा कार्यरत थिए । उनी टोली प्रमुखसमेत हुन् ।
आयोगका अनुसार वलीले छुट जग्गा दर्तासम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । छुट जग्गा दर्ताको सिफारिससहितको फाइल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाइदिने उनको आश्वासन थियो ।
घुस मागेको सूचना र उजुरीपछि अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । आयोगका अनुसार उनलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको थियो ।
अनुसन्धानका क्रममा वलीले सेवाग्राहीबाट १० लाख रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगले उनीविरुद्ध १० लाख रुपैयाँ बिगो कायम गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय र बिगोबमोजिम जरिवाना गर्न माग गरिएको छ ।
आयोगले असोज २२ गते वलीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।