सचिव बन्ने पालो नआउँदै अवकाशमा जाँदै दुई सहसचिव

काठमाडौं । सचिवमा बढुवा हुने वरिष्ठताको सूचीमा रहेका दुई सहसचिव पदोन्नति नपाउँदै अनिवार्य अवकाशमा जाने भएका छन्। नेपाल प्रशासन सेवाका सहसचिव हरिशरण पुडासैनी र प्रदीपकुमार कोइराला सचिव बन्ने सम्भावना रहे पनि दरबन्दी कटौती र अवकाशको समयसीमाका कारण उनीहरूको बढुवा अन्योलमा परेको हो।

नेपाल प्रशासन सेवामा सचिवको दरबन्दी कटौती नभएको भए पुडासैनी र कोइराला यतिबेलासम्म सचिव भइसकेका हुन सक्थे। तर, सचिवको पद सीमित हुँदा वरिष्ठताका आधारमा बढुवाको पालो कुरिरहेका उनीहरू सहसचिवबाटै अवकाशमा जाने अवस्थामा पुगेका हुन्।

सहसचिवको वरिष्ठता सूचीमा जयनारायण आचार्य, ज्ञानेन्द्र पौडेल, प्रदीपकुमार कोइराला र हरिशरण पुडासैनी क्रमशः छन्। पुडासैनी र कोइराला एकै दिन सहसचिव बनेका हुन्। वरिष्ठताका आधारमा सचिव बन्ने सम्भावना रहे पनि रिक्त हुने पद र उनीहरूको अवकाश मितिबीचको अन्तरले बढुवाको अवसर प्रभावित भएको छ।

नेपाल प्रशासन सेवाका सचिव कृष्णबहादुर राउत आगामी पुस २० गते अनिवार्य अवकाशमा जाँदैछन्। उनको अवकाशपछि सचिवको एउटा पद रिक्त हुनेछ। तर, उक्त पद रिक्त हुनुअघि नै पुडासैनी सेवाबाट बाहिरिनेछन्। उनी आगामी कात्तिक ६ गते ५८ वर्ष पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन्। त्यसैले राउतको अवकाशपछि हुने सचिव बढुवाको सिफारिसमा पुडासैनीको नाम पर्ने सम्भावना छैन।

कोइरालाका लागि भने सचिव बन्ने सम्भावना अझै बाँकी छ। राउत अवकाशमा गएपछि रिक्त हुने पदमा वरिष्ठताका आधारमा आचार्य, पौडेल र कोइराला बढुवाका लागि सिफारिस हुने सम्भावना छ। त्यसक्रममा कोइराला तेस्रो नम्बरमा पर्नेछन्। तर, वरिष्ठताको नियमित क्रमभन्दा फरक निर्णय गर्दै उनलाई बढुवा गरिए छोटो अवधिका लागि भए पनि सचिव बन्ने अवसर मिल्न सक्छ।

यसअघि पद्मकुमार मैनालीको बढुवाको उदाहरण दिँदै प्रशासनिक वृत्तमा कोइरालाको हकमा पनि त्यस्तै निर्णय हुन सक्ने चर्चा छ। त्यसो भए उनी करिब १५ दिनका लागि मात्रै सचिव रहने अवस्था बन्न सक्छ। यद्यपि, उनको बढुवा हुने वा नहुने विषयमा कुनै निर्णय भइसकेको छैन।

कोइरालाका लागि सचिव बन्ने अर्को सम्भावित अवसर पनि छ। राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थ आगामी पुस ३० गते अवकाशमा जानेछन्। उनको अवकाशपछि रिक्त हुने पदमा कोइराला दोस्रो प्राथमिकतामा सिफारिस हुन सक्नेछन्। त्यसपछि लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल आगामी माघ १६ गते अवकाशमा जाने भएकाले अर्को पद पनि रिक्त हुनेछ।

तर, दंगालको अवकाशपछि पद रिक्त हुने समयसम्म कोइराला सेवामा रहने छैनन्। उनी आगामी माघ ६ गते ५८ वर्ष पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन्। त्यसैले वरिष्ठताको क्रमअनुसार पहिलो प्राथमिकतामा पुग्ने समयअघि नै उनको अवकाश हुनेछ। कोइरालालाई तेस्रो वा दोस्रो प्राथमिकताबाटै बढुवा गरिए मात्र सचिव बन्ने अवसर प्राप्त हुन सक्छ।

महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका पुडासैनी, अवसरको प्रतीक्षामा कोइराला

हाल राष्ट्रिय योजना आयोगमा कार्यरत पुडासैनीले ग्वाङझाउस्थित नेपाली महावाणिज्यदूत, भन्सार विभागका महानिर्देशक तथा अर्थ मन्त्रालयको बजेटसम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। सरकारी सेवाका विभिन्न महत्त्वपूर्ण निकायमा काम गर्ने अवसर पाएका उनी सचिवमा बढुवा नभई अवकाशमा जाने अवस्थामा पुगेका हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत कोइरालाले भने राज्यका तर्फबाट त्यति धेरै महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर नपाएको प्रशासनिक वृत्तमा चर्चा छ। वरिष्ठताका आधारमा सचिव बन्ने सम्भावना रहे पनि अवकाशको मितिले उनको अवसरलाई सीमित बनाएको छ।

पुडासैनीको सचिव बन्ने सम्भावना लगभग समाप्त भइसकेको छ भने कोइराला अझै बढुवाको सम्भावनामा छन्। तर, उनको हकमा वरिष्ठताको नियमित क्रमअनुसार पालो कुर्दा सचिव बन्ने अवसर गुम्ने देखिन्छ।

यसरी सचिवको दरबन्दी कटौती र अवकाशको समयतालिकाले दुई वरिष्ठ सहसचिवको वृत्तिविकासमा प्रत्यक्ष प्रभाव पारेको छ। पुडासैनी सचिव बन्ने अवसर नपाउँदै सेवाबाट बाहिरिने निश्चितजस्तै छ भने कोइरालाको भविष्य बढुवा सिफारिसमा अपनाइने प्राथमिकता र निर्णयमा निर्भर बनेको छ। 

Share News