काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनकपुर बोल्ट्सबीच क्रिकेट खेलको विकास, खेलाडीको वित्तीय सुरक्षा अभिवृद्धि तथा संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ ।
सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार जनकपुर बोल्ट्ससँग आबद्ध नेपाली खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीको खेल अवधिमा आवश्यक बीमा गरिनेछ । साथै, जनकपुर बोल्ट्सले आफ्नो संस्था र त्यससँग आबद्ध व्यक्तिहरूको बीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समार्फत गर्नेछ ।
यस सहकार्यले क्रिकेट खेलाडीको विकास, उनीहरूको मनोबल अभिवृद्धि र क्लबको संस्थागत सुदृढीकरणमा सहयोग पुग्ने दुवै संस्थाले विश्वास व्यक्त गरेका छन् । सम्झौताअन्तर्गत दुवै संस्थाले आ–आफ्नो क्षेत्रको विशेषज्ञता, पहुँच र स्रोत उपयोग गर्दै पारस्परिक हितका विभिन्न गतिविधिमा सहकार्य गर्नेछन् ।
सम्झौताबारे बोल्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले क्रिकेट, भलिबल, फुटबल तथा फुटसललगायत विभिन्न खेलकुद गतिविधिमा सहभागिता जनाउँदै आएको बताए । उनले भविष्यमा पनि खेलकुद क्षेत्रको विकास र विस्तारमा योगदानलाई निरन्तरता दिने बताए ।
नेपालको ऐतिहासिक क्लब जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा गौरव महसुस भएको उल्लेख गर्दै श्रेष्ठले नेपाली क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरिरहेको प्रगतिलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता गरिएको बताए । उनले दुवै संस्थाबीचको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
त्यस्तै, जनकपुर बोल्ट्सका महाप्रबन्धक खतिवडाले खेलाडीको विकास र क्रिकेटको विस्तारमा सहयोग गरेकोमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स परिवारप्रति आभार व्यक्त गरे । उनले यस सहकार्यले खेलाडीको मनोबल बढाउनुका साथै क्लबको दीर्घकालीन विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।