दशैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन

काठमाडौं । दशैंमा घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गरेको छ । टिकट पाउन सहज हुने अपेक्षासहित यात्रुहरू गएरातिदेखि नै काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा लाइन बसेका छन् ।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

केही जिल्लाका यात्रु भने टिकट लिन बिहीबार रातिदेखि नै लाइनमा बसेका छन् । नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लामा जाने यात्रु बिहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइनमा बसेका थिए ।

दशैंको अग्रिम टिकट बुकिङलाई व्यवस्थित बनाउन लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा काउन्टर थप गरेको जनाएको छ । यात्रुको चापलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको कम्पनीले जनाएको छ ।

Share News