पाल्पामा ३ दशकपछि कांग्रेसको खाता खोलेका रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता सन्दिप रानाले पार्टीको पन्ध्रौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले खुलातर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।

राना पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत हुन् । 

‘सक्षम युवा नेतृत्व, स्पष्ट दृष्टिकोण’ भन्ने नाराका साथ उम्मेदवारी दिएका राना भन्छन्, ‘कांग्रेसको अग्रज पुस्ताले गरेको क्रान्तिले १०४ वर्षे जहानिया राणा शासन फाल्यो । देशमा प्रजातन्त्र स्थापना भयो, बहुदलिय व्यवस्था हूँदै लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा हामी पुग्यौं ।’ 

‘अबको  कांग्रेसले देश विकासको खाका बनाएर त्यसमा क्रान्ति गर्नुपर्छ,’ उनले थपे ।

२०४८ सालको बहुदलीय निर्वाचनयता कांग्रेसले जित हात पार्न नसकेको उक्त क्षेत्रमा रानाले ३४ वर्षपछि २०८२ फागुन २१ गते भएको निर्वाचनमा जित निकालेका थिए ।

राना स्कुले जीवनदेखि नै कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)सँग आबद्ध रहेर राजनीतिमा सक्रिय थिए । 

३८ वर्षीय राना भारतबाट राजनीतिशास्त्र तथा कानुनमा स्नातक तहसम्म अध्ययन गरेका उम्मेदवार हुन् । त्यही क्रममा उनी विद्यार्थी संघ भारतका अध्यक्ष बनेका थिए ।

त्यस्तै, उनले विश्व विद्यार्थी तथा युवा संगठनका अन्तर्राष्ट्रिय सचिव र अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानको अध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

Share News