काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गुल्मीबाट १० जना नेताले केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिएका छन् । तीमध्ये एक जनाले उपसभापति र नौ जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार गुल्मीका नेता डा. चन्द्रकान्त भण्डारीले उपसभापति पदमा उम्मेदवारी दिएका छन् । भण्डारी कांग्रेसभित्र प्रभावशाली नेताका रूपमा परिचित छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार गुल्मीबाट निवर्तमान केन्द्रीय सदस्य छन्द पहराईले पुनः केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी यसपटक पनि केन्द्रीय समितिमा निरन्तरता पाउने प्रयासमा छन् ।
त्यस्तै राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटा र लुम्बिनी प्रदेशसभा सदस्य धनेन्द्र कार्कीले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । पूर्वविद्यार्थी नेता मोतीलाल भण्डारी पनि केन्द्रीय सदस्यको दौडमा छन् ।
गुल्मीबाट महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी सुस्मा पाण्डे र भगवती काफ्लेले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । चार्टर्ड एकाउन्टेन्ट (सीए) पदम भट्टराईले समेत केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
यसैगरी कांग्रेस नेताहरू मुक्ति कँडेल र अमृत ज्ञवालीले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
यससँगै १५औँ महाधिवेशनमा गुल्मीबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिने नेताको संख्या १० पुगेको छ । उपसभापति पदमा भण्डारीको उम्मेदवारीसँगै गुल्मीको प्रतिनिधित्व पदाधिकारी तहमा समेत पुगेको छ भने बाँकी नौ उम्मेदवार केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा छन् ।
गुल्मीबाट एउटै महाधिवेशनमा यति ठूलो संख्यामा केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी पर्नुले जिल्लामा कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव विस्तार गर्ने प्रतिस्पर्धा बढेको देखिएको छ । यद्यपि, अन्तिम परिणाम भने महाधिवेशन प्रतिनिधिको मतदानबाट तय हुनेछ ।