नानू बाँस्तोलाले दिइन् सहमहामन्त्रीमा उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ नानू बाँस्तोलाले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । बाँस्तोलाले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबार भइरहेको मनोनयन दर्ता प्रक्रियाअन्तर्गत सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी हुन् । उनी कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन् ।

बाँस्तोला विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छिन् । उनले नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, नेपाल महिला संघको केन्द्रीय सदस्य तथा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यका रूपमा काम गरिसकेकी छिन् । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकका रूपमा समेत सक्रिय रहँदै आएकी छिन् ।

कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न समूह र क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता भइरहेको छ । नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको हो । 

Share News