काठको आयात घटाएर स्वदेशी उत्पादन बढाउन मन्त्री चौधरीको जोड

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले नेपालमा उपलब्ध वन स्रोतको दिगो व्यवस्थापन गर्दै काठ तथा वन पैदावारको उत्पादन र उपयोग बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।

मन्त्री चौधरीले असोज १५ देखि १८ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न वन तथा कृषि क्षेत्रको स्थलगत निरीक्षण गरेकी थिइन् । सो क्रममा कपिलवस्तुको तौलिहवास्थित डिभिजन वन कार्यालयमा आयोजित बैठकमा वन व्यवस्थापन, काठ तथा वन पैदावारको उपयोग, स्वदेशी उद्योगसँगको आबद्धता, काठ आयात प्रतिस्थापन, ट्रेसिबिलिटी प्रणाली, सामुदायिक वन तथा चुरे संरक्षणलगायत विषयमा छलफल भएको थियो ।

बैठकमा मन्त्री चौधरीले वन स्रोतको दिगो व्यवस्थापन र प्रभावकारी उपयोग गर्दै स्वदेशी उद्योगको प्रवर्द्धन तथा काठको आयात प्रतिस्थापनलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिइन् ।

नेपालमा उत्पादन हुने काठ तथा वन पैदावारलाई स्वदेशी उद्योगसँग जोडेर प्रशोधन, उत्पादन र बजारीकरणलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन् । वन पैदावारको उत्पादन र उपयोग बढाउँदा रोजगारी सिर्जना, उद्योग प्रवर्द्धन तथा राज्यको आम्दानी वृद्धि गर्न सकिने उनको भनाइ थियो ।

विदेशी काठको आयात क्रमशः घटाउँदै नेपाललाई काठमा आत्मनिर्भर बनाउने गरी स्पष्ट कार्ययोजना बनाउन पनि उनले निर्देशन दिइन् । देशभित्र उपलब्ध वन स्रोतको वैज्ञानिक तथा दिगो व्यवस्थापनमार्फत काठको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्ने उनले बताइन् ।

काठको वैधानिकता र स्रोत पहिचानलाई पारदर्शी बनाउन ट्रेसिबिलिटी तथा ट्र्याकिङ सफ्टवेयर प्रणाली विकास गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा समेत मन्त्री चौधरीले जोड दिइन् । काठ उत्पादनदेखि बिक्री र उपयोगसम्मको विवरण डिजिटल प्रणालीमार्फत अभिलेख तथा अनुगमन गर्ने व्यवस्था आवश्यक रहेको उनले बताइन् ।

बैठकमा सामुदायिक वनको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनसँगै वनको वैज्ञानिक र दिगो व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो । स्थानीय समुदायको सहभागिता र लाभ सुनिश्चित गर्दै वन स्रोतको संरक्षणसँगै यसको दिगो उपयोगलाई अघि बढाउनुपर्नेमा मन्त्री चौधरीले जोड दिइन् ।

Share News