काठमाडौं । ५० वर्षको व्यावसायिक अनुभव । ८ वटा ब्राण्ड । ४ सय बढी कर्मचारी । १८ लाख बढी ग्राक सन्तुष्ट र २३ सय बढीको बढीको सेयर मूल्य । सन् १९८५ मा स्थापित हिमालयन डिस्टिलरी लिमिटेडको पहिचान हो यो । यही नाम, पहिचान र ब्राण्ड बोकेको हिमालयन डिस्टिलरी मंगलबार सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रुपमा सरकारबाट सम्मानित भयो ।
आन्तरिक राजस्व विभागले २०८१/८२ मा सबैभन्दा बढी भ्याट तिर्ने कम्पनीका रुपमा यो कम्पनीलाई सम्मानित गरेको घोषणा गरेको छ ।
चार दशकको औद्योगिक यात्रा
हिमालयन डिस्टिलरीको स्थापना सन् १९८५ मा निजी लिमिटेड कम्पनीका रूपमा भएको थियो । सन् २००० मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको यसले सोही वर्ष सेयर जारी गर्दै पुँजी बजारमा प्रवेश गरेको थियो । नेपालको मदिरा तथा पेय पदार्थ उद्योगबाट सेयर बजारमा सूचीकृत हुने पहिलो कम्पनी भएको दाबी पनि कम्पनीले आफ्नो वार्षिक प्रतिवेदनमा गरेको छ ।
सन् २००० मा बहुराष्ट्रिय कम्पनी पर्नो रिकार्डसँग सम्झौता गरी रोयल स्ट्याग र ब्लेन्डर्स प्राइडलगायत ब्रान्ड उत्पादन गर्ने काम पनि यसले गरेको थियो ।
कम्पनीको व्यावसायिक विस्तारमा सन् २०१४ मा सुरु गरिएको गोल्डेन ओक ब्रान्ड महत्त्वपूर्ण मानिन्छ । नेपाली बजारमा ४० यूपी ह्विस्कीको क्षेत्रमा ल्याइएको गोल्डेन ओक कम्पनीको प्रमुख उत्पादनका रूपमा स्थापित भएको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म यस ब्रान्डको प्राथमिक बिक्री ६५ लाख केस पुगेको छ ।
त्यसपछि सन् २०१६ मा रोयल ट्रेजर, २०१८ मा ब्ल्याक ओक, २०२१ मा ब्लु ओक र २०२३ मा सिल्भर ओक बजारमा ल्याइयो । सन् २०२५ मा थप प्रिमियम २५ यूपी सेगमेन्टमा श्लोक ब्रान्ड पनि सार्वजनिक गरिएको छ ।
कम्पनीले अहिले ह्विस्की, रम, भोड्का, परम्परागत नेपाली मदिरा र रेडी टु ड्रिंक (आरटीडी) पेय पदार्थ उत्पादन गर्दै आएको छ ।
गोल्डेन ओक, ब्ल्याक ओक, सिल्भर ओक, ब्लु ओक, श्लोक ह्विस्की, श्लोक एक्सएक्सएक्स रम, हिमालयन ऐला, प्यासन कुलर लेमोनेड र प्यासन कुलर कोलाजस्ता ब्रान्ड कम्पनीको उत्पादन सूचीमा छन् ।

के उत्पादन गर्छ, कसरी उत्पादन हुन्छ ?
हिमालयन डिस्टिलरीको मुख्य कारखाना पर्साको वीरगन्ज महानगरपालिका-२१, लिपनीबिर्तामा छ । कम्पनीको सम्पर्क कार्यालय ललितपुरको जावलाखेलमा रहेको छ ।
यसको विशेषता मदिरा तयार पार्ने र बोतलमा भर्ने काममा मात्र सीमित छैन । कम्पनीसँग आफ्नै डिस्टिलेसन प्लान्ट, बोटलिङ सुविधा र गुणस्तर परीक्षण प्रयोगशाला छन् ।
कम्पनीको डिस्टिलेसन प्लान्ट अमेरिकी प्रविधि तथा इन्जिनियरिङ कम्पनी क्याटजेनले डिजाइन गरेको हो । यसको क्षमता प्रतिदिन ३० हजार लिटर अर्थात् ३० केएलपीडी छ । यसबाट वार्षिक करिब ६० लाख लिटर एक्स्ट्रा न्युट्रल अल्कोहल ९ईएनए० उत्पादन गर्न सकिने कम्पनीको विवरणमा उल्लेख छ ।
ईएनए मदिरा उत्पादनको आधारभूत कच्चा पदार्थ हो । कम्पनीले अन्न भण्डारण, सफाइ, गुणस्तर परीक्षण र पिसाइपछि त्यसलाई प्रशोधन, किण्वन र डिस्टिलेसन गरेर ईएनए उत्पादन गर्छ । त्यसपछि आवश्यक मिश्रण, प्रशोधन र गुणस्तर परीक्षण गर्दै विभिन्न ब्रान्डका मदिरा तयार पारिन्छन् ।
कम्पनीको बोटलिङ प्लान्टले वार्षिक ६० लाख लिटरभन्दा बढी मदिरा बोतलमा भर्न सक्ने क्षमता राख्छ । उत्पादन बजारमा पठाउनुअघि कम्पनीका आफ्नै गुणस्तर नियन्त्रण अधिकारीले परीक्षण गर्छन् । सरकारी अन्तःशुल्क अधिकारीको प्रत्यक्ष निगरानीमा पनि उत्पादन प्रक्रिया सञ्चालन हुने कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीले पछिल्लो समय माल्ट स्पिरिट उत्पादनमा पनि लगानी विस्तार गरेको छ । सन् २०२४ देखि सञ्चालनमा आएको माल्ट डिस्टिलेसन प्लान्टबाट आर्थिक वर्ष २०८१र८२ मा ३८ हजार ७१६ लिटर माल्ट स्पिरिट उत्पादन गरिएको थियो । त्यसमध्ये २५ हजार ६०० लिटर बिक्री भएको कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।
माल्ट स्पिरिट कम्तीमा तीन वर्ष परिपक्व बनाएपछि उच्च गुणस्तरको सिंगल माल्ट ह्विस्की उत्पादन गर्न सकिने कम्पनीको योजना छ । यसबाट आयातित स्कचमा निर्भरता घटाउने र स्वदेशमै प्रिमियम मदिरा उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
क-कसको छ लगानी ?
हिमालयन डिस्टिलरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सार्वजनिक कम्पनी हो । त्यसैले यसमा संस्थापक तथा ठूला लगानीकर्तासँगै सर्वसाधारणको पनि लगानी छ ।
कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म ६० हजारभन्दा बढी सेयरधनी रहेको उल्लेख छ । कुल ३ करोड ७ लाख ३४ हजार १८ कित्ता सेयर रहेको कम्पनीको सेयर स्वामित्व विवरणमा १ प्रतिशतभन्दा बढी सेयर भएका लगानीकर्ताको अवस्था यस्तो छ ।
|
सेयरधनी |
सेयर स्वामित्व |
|
रहिशा शाह श्रेष्ठ |
२६.९७ प्रतिशत |
|
फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि |
१४.७७ प्रतिशत |
|
आर एन्ड आर सप्लायर्स प्रालि |
११.९० प्रतिशत |
|
म्याजेस्टिक भेन्चर्स प्रालि |
२.४१ प्रतिशत |
|
अन्य सर्वसाधारण सेयरधनी |
४३.९४ प्रतिशत |
रहिशा शाह श्रेष्ठ कम्पनीकी सबैभन्दा ठूलो सेयरधनी हुन् । फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर र आर एन्ड आर सप्लायर्सको पनि उल्लेख्य लगानी छ ।
सर्वसाधारणको स्वामित्व ४३.९४ प्रतिशत छ । यसले कम्पनीमा संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको मिश्रित स्वामित्व रहेको देखाउँछ ।
पाण्डे र सुवेदीको नेतृत्व
हिमालयन डिस्टिलरीको सञ्चालक समितिको अध्यक्ष शंकरराज पाण्डे छन् । उनी सन् २००९ देखि कम्पनीको सञ्चालक समितिमा आबद्ध छन् । सन् २०२५ अप्रिलमा अध्यक्षको जिम्मेवारी पाएका पाण्डेसँग सार्वजनिक, विकास र निजी क्षेत्रमा चार दशकभन्दा लामो अनुभव छ ।
उनले जेभियर विश्वविद्यालय र जर्जटाउन विश्वविद्यालयबाट अध्ययन गरेका छन् । उनी अमेरिकन युनिभर्सिटीमा हम्फ्रे फेलोसमेत भएका थिए ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज सुवेदी हुन् । उनी सन् २०२३ जुलाईमा सीईओ नियुक्त भएका थिए । चार्टर्ड एकाउन्टेन्ट सुवेदीले अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । मदिरा उद्योगको वित्तीय व्यवस्थापन तथा सञ्चालनमा उनको १९ वर्षभन्दा लामो अनुभव रहेको कम्पनीको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीको सञ्चालक समितिमा अध्यक्ष पाण्डेसहित सन्तु श्रेष्ठ, याङकिला (शेर्पा) रुइत, शिखर प्रसाईं, प्रकाशमणि घिमिरे र बद्री विशाल घिमिरे छन् । प्रकाशमणि घिमिरे स्वतन्त्र सञ्चालक हुन् ।
सन्तु श्रेष्ठ लामो समयदेखि कम्पनीको सञ्चालक समितिमा छन् । याङकिला रुइत पर्यटन उद्यमी तथा पूर्वराज्यमन्त्री हुन् । शिखर प्रसाईं पर्यटन तथा आतिथ्य व्यवसायमा संलग्न छन् भने बद्री विशाल घिमिरे र प्रकाशमणि घिमिरे पनि सञ्चालक समितिमा आबद्ध छन् ।
सरकारलाई २० अर्ब कर योगदान
हिमालयन डिस्टिलरीको सबैभन्दा उल्लेखनीय पक्ष यसको कर योगदान हो । कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार पछिल्ला पाँच आर्थिक वर्षमा सरकारलाई विभिन्न शीर्षकमा २० अर्ब कर तथा शुल्क योगदान गरेको छ ।
यसमा अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, भन्सार, स्रोतमा कट्टी हुने कर (टीडीएस) र आयकर समावेश छन् ।
कम्पनीको नाफा-नोक्सान विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म पाँच वर्षमा कुल कर खर्च करिब १४२ करोड २० लाख रुपैयाँ रहेको छ । यसमा चालु आयकर, स्थगित आयकर र अघिल्लो अवधिको कर समायोजन समावेश छन् ।
आर्थिक वर्ष २०८१/८२ मा मात्रै कम्पनीले ३२ करोड २१ लाख रुपैयाँ चालु आयकर खर्च, २६ लाख २९ हजार रुपैयाँ स्थगित आयकर र ३१ लाख ६३ हजार रुपैयाँ अघिल्लो अवधिको कर समायोजन देखाएको छ । यी शीर्षक जोड्दा कुल आयकर खर्च ३२ करोड ७९ लाख रुपैयाँ हुन्छ ।
यसमा कम्पनीले लेखा विवरणमा देखाएको आयकर खर्च र सरकारलाई वास्तवमा दाखिला गरेको नगद आयकरलाई एउटै अर्थमा बुझ्नु हुँदैन । कम्पनीले राष्ट्रिय अर्थतन्त्रमा गरेको योगदान शीर्षकमा पाँच वर्षको आयकर योगदान १४७ करोड ४० लाख रुपैयाँ देखाएको छ ।
|
करको प्रकार |
२०७७/७८ |
२०७८/७९ |
२०७९/८० |
२०८०/८१ |
२०८१/८२ |
|---|---|---|---|---|---|
|
अन्तःशुल्क |
२,८०८ |
३,५२४ |
२,६८४ |
२,०७४ |
३,४९२ |
|
भ्याट |
८३२ |
७८३ |
५३५ |
४०४ |
६९६ |
|
भन्सार |
४३ |
६४ |
१०० |
४५ |
९२ |
|
टीडीएस |
६२ |
८९ |
८८ |
५० |
५२ |
|
आयकर |
४२१ |
३७८ |
२२३ |
१३० |
३२२ |
|
कुल कर |
४,१६७ |
४,८३८ |
३,६३० |
२,७०३ |
४,६५४ |
हिमालयन डिस्टिलरीको आर्थिक अवस्था पछिल्ला पाँच वर्षमा उतारचढावपूर्ण देखिन्छ । कम्पनीको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७र७८ मा ३ अर्ब ६९ करोड ९६ लाख रुपैयाँ रहेको खुद बिक्री आम्दानी २०७८/७९ मा बढेर ४ अर्ब ५ करोड ९१ लाख रुपैयाँ पुगेको थियो ।
त्यसपछि आर्थिक गतिविधिमा आएको सुस्तता र बजारको मागमा परेको प्रभावसँगै कम्पनीको बिक्री आम्दानी घट्न थाल्यो । आर्थिक वर्ष २०७९र८० मा २ अर्ब ९७ करोड रुपैयाँ र २०८०/८१ मा २ अर्ब ८ करोड १४ लाख रुपैयाँमा झरेको बिक्री आम्दानी २०८१/८२ मा पुनः बढेर ३ अर्ब ७० करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा ३६ करोड ५० लाख रुपैयाँमा सीमित भएको थियो । तर २०८१/८२ मा बढेर ९४ करोड १४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा खुद नाफा करिब १५८ प्रतिशतले बढेको हो ।
त्यसैगरी कम्पनीको सञ्चालन नाफा पनि आर्थिक वर्ष २०८०/८१ को ४८ करोड ३२ लाख रुपैयाँबाट बढेर २०८१/८२ मा १२७ करोड १३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा बिक्री परिमाण ३९ प्रतिशतले बढेको र खुद बिक्री आम्दानी अघिल्लो वर्षको तुलनामा ७८ प्रतिशतले बढेको उल्लेख गरेको छ ।
नयाँ उत्पादन र प्रविधिमा लगानी
हिमालयन डिस्टिलरीले पुराना ब्रान्डको बजार विस्तारसँगै नयाँ उत्पादन र प्रविधिमा लगानी गरिरहेको छ । कम्पनीले पछिल्लो समय माल्ट स्पिरिट उत्पादनका लागि छुट्टै प्लान्ट सञ्चालनमा ल्याएको छ ।
यसले नेपालमै उच्च गुणस्तरको माल्ट स्पिरिट उत्पादन गरी भविष्यमा सिंगल माल्ट ह्विस्की उत्पादन गर्ने लक्ष्य राखेको छ । माल्ट स्पिरिट कम्तीमा तीन वर्ष परिपक्व बनाउनुपर्ने भएकाले यसबाट तत्कालभन्दा दीर्घकालीन व्यावसायिक लाभ खोजिएको देखिन्छ ।
त्यस्तै, कम्पनीले प्यासन कुलर कोलाजस्ता रेडी टु ड्रिंक पेय पदार्थ पनि बजारमा ल्याएको छ । कम्पनीका अनुसार आरटीडी उत्पादनका लागि छुट्टै बोटलिङ लाइन स्थापना गरिएको छ, जसको वार्षिक क्षमता करिब चार लाख लिटर छ ।
यसका साथै उत्पादन प्रक्रियामा स्वचालन, गुणस्तर परीक्षण र वातावरणीय व्यवस्थापनमा पनि लगानी गरिएको छ । कम्पनीले उत्पादनबाट निस्कने तरल फोहोर व्यवस्थापनका लागि जिरो लिक्विड डिस्चार्ज प्रणाली जडान गरेको जनाएको छ ।