काठमाडौं । पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघेको छ । बढ्दो नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले राजधानी लिस्बोनमा कार्यालय सञ्चालनमा ल्याउने भएको छ ।
एनआरएनए पोर्चुगलका अनुसार आगामी ४ अक्टोबरदेखि लिस्बोनमा कार्यालय सञ्चालनमा आउनेछ । कार्यालयबाट पोर्चुगलमा रहेका नेपाली समुदायले आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श प्रत्यक्ष रूपमा लिन सक्नेछन् ।
पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्था (आईएनई)का अनुसार सन् २०२५ मा पोर्चुगलमा नेपाली नागरिकको संख्या ५६ हजार ८ सय ६६ पुगेको छ । यो पोर्चुगलमा रहेका आप्रवासीमध्ये पाँचौँ ठूलो संख्या हो। नेपालीमध्ये ३८ हजार ३ सय ३५ पुरुष र १८ हजार ५ सय ३१ महिला छन् । पोर्चुगलको नागरिकता लिइसकेका नेपाली भने उक्त तथ्याङ्कमा समावेश छैनन् ।
तथ्याङ्कअनुसार सन् २०२१ मा पोर्चुगलमा २४ हजार १३ जना नेपाली रहेकामा सन् २०२५ सम्म आइपुग्दा संख्या बढेर ५६ हजार ८ सय ६६ पुगेको हो । चार वर्षमा नेपालीको संख्या १३६ दशमलव ८ प्रतिशतले बढेको देखिन्छ ।
सन् २०२५ मा पोर्चुगलमा ब्राजिलका ५ लाख ७४ हजार १ सय ९५, एङ्गोलाका १ लाख ३ हजार १ सय ४०, भारतका ९३ हजार ६ सय ८३ र केपभर्डेका ७६ हजार ९९ नागरिक रहेका छन् । यी देशपछि नेपाली नागरिकको संख्या रहेको तथ्याङ्कमा उल्लेख छ ।
सन् २०२५ मा पोर्चुगलमा रहेका कुल आप्रवासीको संख्या १५ लाख ९७ हजार ५ सय ३९ रहेकोमा नेपालीको हिस्सा ३ दशमलव ५५ प्रतिशत छ । सन् २०२१ मा कुल आप्रवासीमा नेपालीको हिस्सा ३ दशमलव २ प्रतिशत थियो ।
नेपालीको संख्या बढेसँगै पोर्चुगलमा नेपाली संघसंस्थाको संस्थागत उपस्थिति र नेपालको कूटनीतिक सक्रियता पनि विस्तार हुँदै गएको छ । नेपाल सरकारले २०८१ सालमा लिस्बोनमा नेपाली दूतावास स्थापना गरेको थियो। सरकारले प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त गरेको थियो ।
यस्तै, पोर्चुगलले पनि नेपालमा आफ्नो कूटनीतिक उपस्थिति विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ । काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न पोर्चुगलले माग गरेकोमा मन्त्रिपरिषद्ले २०८३ साउन २६ गते सहमति दिने निर्णय गरेको थियो । त्यसपछि पोर्चुगलले काउन्सिलर कार्यालयभन्दा माथिल्लो तहको महावाणिज्य दूतावास स्थापना गर्न अनुमति मागेको जनाइएको छ ।
बढ्दो नेपाली समुदायलाई मध्यनजर गर्दै एनआरएनए पोर्चुगलले लिस्बोनमा कार्यालय सञ्चालन गर्न लागेको जनाएको छ। कार्यालय अभेनिदा देफेन्सोरेस दे शाभेस नं. ४, १०००–१०९, लिस्बोनमा रहनेछ । कार्यालय एसआईसीको अगाडि रहेको जनाइएको छ ।
एनआरएनए पोर्चुगलले आधिकारिक वेबसाइट पनि सञ्चालनमा ल्याएको जनाएको छ । वेबसाइटमार्फत संघका आधिकारिक सूचना, सेवा, सहयोग, कार्यक्रम तथा आवश्यक जानकारी प्राप्त गर्न सकिनेछ । सेवा तथा सहयोगसम्बन्धी जिज्ञासा र अनुरोधसमेत वेबसाइटमार्फत पठाउन सकिने व्यवस्था गरिएको संघले जनाएको छ ।
एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तान र सचिव सुरज भण्डारीले कार्यालय तथा वेबसाइटबाट उपलब्ध सेवाको उपयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायलाई आग्रह गरेका छन् ।