काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आर्थिक तथा व्यवस्थापकीय अवस्था अत्यन्त नाजुक रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपाल एयरलाइन्स निजी कम्पनी भएको भए अहिलेको अवस्थामा लिक्विडेसनमा गइसक्ने अवस्था रहेको बताए ।
उनले नेपाल एयरलाइन्स नाफा कमाउने संस्था मात्र नभई राष्ट्रिय ध्वजावाहक भएकाले यसको संरक्षण र सुधारका लागि कठोर निर्णय लिनुपर्ने समय आएको बताए ।
पर्यटन प्रवद्र्धन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग समेत निगम जोडिएकाले यसको पुनर्संरचना आवश्यक रहेको उनको भनाइ थियो ।
‘नेपाल वायुसेवा निगमको अवस्था अत्यन्त गम्भीर छ । निजी कम्पनी भएको भए यो अवस्थामा लिक्विडेसनमा जाने अवस्था आउन सक्थ्यो,’ मन्त्री पौडेलले भने, ‘तर यो नाफा कमाउन मात्र स्थापना भएको संस्था होइन । राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको संस्था हो । त्यसैले निगममा मेजर रिफर्म र पुनर्संरचना आवश्यक छ ।’
मन्त्री पौडेलले निगमको ऋणको भार घटाउने, इक्विटी बढाउने तथा अत्यधिक ब्याजदर पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । उहाँले जहाज थप्ने, लिजमा लिने तथा फ्लीट आधुनिकीकरण गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
कोभिड–१९ को समयमा निगमको ब्याजलाई पुँजीकरण गरिएको विषयमा समेत मन्त्री पौडेलले असन्तुष्टि जनाए ।
उनले त्यसरी ब्याज पुँजीकरण गर्दा निगममाथि थप आर्थिक भार परेको भन्दै त्यसलाई ‘मिटरब्याज’ सरहको व्यवहार भएको टिप्पणी गरे ।
निगमको व्यवस्थापकीय कमजोरीप्रति पनि मन्त्री पौडेलले प्रश्न उठाए । उनका अनुसार निगममा प्रभावकारी जनशक्ति योजना, मार्केटिङ रणनीति तथा सञ्चालन योजना कमजोर छन् ।
वाइडबडी जहाजको ओभरहल तथा मर्मतसम्भारका लागि आवश्यक अर्बौं रुपैयाँसमेत व्यवस्थापन गर्न नसक्नुले निगमको वित्तीय अवस्था कमजोर रहेको देखाउने उनको भनाइ थियो ।
‘निगममा वित्तीय, मानव संसाधन, मार्केटिङ र अपरेसनल योजना कमजोर छन्,’ उनले भने, ‘वाइडबडी जहाजको ओभरहलका लागि आगामी केही महिनामै ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसको वित्तीय योजना तत्काल बनाउनुपर्छ ।’
निगमको दीर्घकालीन सुधारका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जानुपर्ने सरकारको नीति रहेको मन्त्री पौडेलले स्पष्ट पारे ।
निगमलाई पीपीपी वा निजी क्षेत्रको साझेदारी मोडलमा लैजाने विषयमा व्यापक सार्वजनिक बहस आवश्यक रहेको उनको भनाइ थियो ।
‘यस अवस्थामा सरकारको निर्णय मात्र पर्याप्त हुँदैन । निगमलाई पीपीपी वा निजी क्षेत्रको साझेदारी मोडलमा लैजाने विषयमा समेत व्यापक सार्वजनिक बहस आवश्यक छ,’ उनले भने, ‘राष्ट्रिय ध्वजावाहकलाई दीर्घकालीन रूपमा सक्षम र आत्मनिर्भर बनाउने गरी छिट्टै ठोस निर्णय लिनुपर्छ ।’
पर्यटन प्रवद्र्धन र राष्ट्रिय आत्मविश्वासका लागि राष्ट्रिय ध्वजावाहकको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै मन्त्री पौडेलले सरकार निगमको पुनरुत्थानका लागि प्रतिबद्ध रहेको बताए ।
समितिले अगाडि बढाएको छलफलले नेपाल एयरलाइन्सलाई जोगाउन र दीर्घकालीन रूपमा सक्षम बनाउन ठोस मार्गचित्र तयार गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।