काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
फाउन्डेसनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरेको हो ।
फाउन्डेसनका सचिव तथा हाम्रो सनसाइन स्कुलका प्रिन्सिपल दिवेश खत्रीले बिहीबार (आज) मन्त्री तिमिल्सिनालाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
खत्रीका अनुसार शिक्षक, कर्मचारी तथा संस्थाका सदस्यहरूबाट रकम संकलन गरी विपद् प्रभावितको राहत र पुनःस्थापनाका लागि सहयोग गरिएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले विपद्का समयमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
उनले बाढीपीडितको राहत तथा पुनःस्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
हाम्रो सनसाइन स्कुल फाउन्डेसनले विगत २५ वर्षदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको जनाएको छ ।
स्कुलले विद्यार्थीलाई दिवा खाजाको समेत व्यवस्था गर्दै आएको फाउन्डेसनका सचिव खत्रीले बताए ।
काठमाडौंको बौद्धमा रहेको हाम्रो सनसाइन स्कुलमा कक्षा १२ सम्म पढाइ हुँदै आएको छ ।