दुई दिनमै विपद्का १ सय १५ घटना, ९ जनाको मृत्यु, ८ जना बेपत्ता

काठमाडौं । देशभर विपद्को जोखिम बढिरहेका बेला दुई दिनमै १ सय १५ वटा विपद्का घटना भएका छन् । 

असोज १३ र १४ गते भएका बाढी, पहिरो, हिमपहिरो, सर्पदंश, अविरल वर्षा, हिमपातलगायतका घटनामा ९ जनाको मृत्यु, ८ जना बेपत्ता र २८ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १३ गते मात्रै ८० वटा विपद्का घटना भएका थिए । असोज १४ गते बिहान १० बजेसम्म थप ३५ घटना दर्ता भएका छन् ।

दुई दिनमा भएको मानवीय क्षतिमध्ये सबैभन्दा बढी मृत्यु असोज १३ गते भएको थियो । उक्त दिन हिमपहिरोमा ४ जना, अविरल वर्षाका कारण २ जना र पहिरोमा १ जनाको मृत्यु भएको थियो । असोज १४ गते सर्पदंश र बाढीका कारण थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या ९ पुगेको हो।

त्यस्तै, असोज १३ गते हिमाली क्षेत्रमा भएको हिमपातका कारण ८ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्राधिकरणको विवरणमा उल्लेख छ ।

त्यस्तै विपद्का घटनामा परी दुई दिनमा २८ जना घाइते भएका छन् । असोज १३ गते १९ जना र असोज १४ गते थप ९ जना घाइते भएका हुन् । सर्पदंश, अविरल वर्षा र लेक लाग्ने समस्यालगायतका कारण मानिसहरू घाइते भएको प्राधिकरणले जनाएको छ ।

विपद् प्रभावित क्षेत्रमा उद्धारसमेत तीव्र पारिएको छ। असोज १३ गते बाढी प्रभावित क्षेत्रबाट १ हजार ६५ जना र हावाहुरी प्रभावित क्षेत्रबाट २६ जनासहित १ हजार ९१ जनाको उद्धार गरिएको छ । विपद्का कारण भौतिक संरचनामा समेत क्षति पुगेको छ। दुई दिनमा मात्रै ६५ ठाउँमा सडक अवरुद्ध भएका छन् । असोज १३ गते १७ र असोज १४ गते ४८ ठाउँमा सडक अवरुद्ध भएको प्राधिकरणको तथ्यांक छ । यस अवधिमा १२ वटा चौपायाको समेत क्षति भएको छ ।

दुई दिनमा विपद्का कारण भएको अनुमानित आर्थिक क्षति १ करोड ३९ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ । असोज १३ गते ९९ लाख ४५ हजार रुपैयाँ र असोज १४ गते ४० लाख ६७ हजार ३ सय रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । 

Share News