नेप्से नयाँ वित्तीय उपकरण कार्यान्वयन गर्न सक्षम छ : सुवेदी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले नियम तथा विनियमावलीले व्यवस्था गरेका सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न नेप्से सक्षम रहेको बताएका छन् ।

अर्थसमितिमा भएको पुँजी बजारसम्बन्धी छलफलमा सुवेदीले नेप्सेले हाल इक्विटी, म्युचुअल फण्ड, डिबेन्चरलगायतका उपकरणको कारोबार गराउँदै आएको जानकारी दिए । 

उनका अनुसार ओभर द काउन्टर (ओटीसी) बजारसमेत नेप्सेले सञ्चालन गरिरहेको छ ।

पछिल्लो समय मार्जिन कारोबारसमेत सञ्चालनमा आएको र धेरै ब्रोकर कम्पनीले मार्जिन लेन्डिङ कारोबार सुरु गरिसकेको उनले बताए ।

लगानीकर्ताको मागअनुसार ‘आफ्टर मार्केट अर्डर’ सुविधा पनि कार्यान्वयनमा आइसकेको उनको भनाइ छ ।

सुवेदीले भने, ‘अहिलेको सन्दर्भमा हामीसँग उपलब्ध रहेका र नियम तथा विनियमले व्यवस्था गरेका सम्पूर्ण वित्तीय उपकरणहरूको कारोबार गराउन नेप्से सक्षम छ ।’

नयाँ वित्तीय उपकरण ल्याउने विषय भने नीतिनिर्माणसँग सम्बन्धित रहेको उनले स्पष्ट पारे । 

नयाँ उपकरणसम्बन्धी नीति मुख्यतः नेपाल धितोपत्र बोर्ड (सेबोन) र अर्थ मन्त्रालयले तय गर्ने भएकाले सम्बन्धित निकायबाट बनेका नीति कार्यान्वयन गर्ने भूमिका नेप्सेको रहेको उनको भनाइ छ ।

‘नयाँ वित्तीय उपकरण ल्याउने विषय नीतिसँग जोडिएको विषय हो। नीति निर्माण मुख्यतः नेपाल धितोपत्र बोर्ड वा अर्थ मन्त्रालयले गर्ने विषय हो। सम्बन्धित निकायहरूले बनाएको नीति हामीले कार्यान्वयन गर्नैपर्छ र सोहीअनुसार कार्यान्वयन गर्दै आएका छौं,’ उनले भने ।

पछिल्लो समय नयाँ वित्तीय उपकरणका विषयमा सेबोनसँग समन्वय भइरहेको जानकारी दिँदै सुवेदीले आगामी दिनमा जुनसुकै नयाँ उपकरण आए पनि त्यसलाई कार्यान्वयन गर्न नेप्से प्रतिबद्ध रहेको बताए ।

मार्जिन लेन्डिङमा विभिन्न ब्रोकर कम्पनीले फरक–फरक मूल्य निर्धारण गरेको विषयमा पनि नेप्सेले निरीक्षण गर्ने उनले बताए । 

नेप्सेले तयार गरेको मार्जिन कारोबारसम्बन्धी कार्यविधिअनुसार ब्रोकरहरूले कारोबार गरिरहेका छन् कि छैनन् भन्ने विषयमा निरीक्षण गरिने उनको भनाइ छ ।

यस्तै, नेप्सेको अनलाइन कारोबार प्रणालीको स्वामित्वसम्बन्धी प्रश्नमा सुवेदीले प्रणालीको स्वामित्व नेप्सेकै रहेको स्पष्ट पारे । 

सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार प्रणालीको मर्मतसम्भारका लागि बोलपत्र आह्वान गरी कम्पनी छनोट गरिएको उनले बताए ।

‘यसको स्वामित्व नेप्सेकै हो । प्रणालीको मर्मतसम्भारका लागि नेप्सेले सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम बोलपत्र आह्वान गरेको थियो । बोलपत्र प्रक्रियाबाट कुनै कम्पनी छनोट हुनु स्वाभाविक प्रक्रिया हो । तर त्यसको स्वामित्व, स्रोत कोडदेखि सम्पूर्ण सञ्चालनसम्बन्धी अधिकार नेप्सेकै हुन्छ। यो नेप्सेको सम्पत्ति हो,’ सुवेदीले भने ।

ब्रोकरहरूलाई प्रणालीमा लगइन गर्न प्रयोगकर्ता नाम तथा पासवर्ड उपलब्ध गराउने र ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सँग जोडिन आवश्यक पहुँच प्रदान गर्ने व्यवस्था नेप्सेले गरेको उनले बताए ।

टीएमएस सञ्चालनको जिम्मेवारी भने सम्बन्धित ब्रोकर कम्पनीकै रहेको सुवेदीले स्पष्ट पारे ।

उनले नेप्से आफ्नो भूमिकाप्रति निरन्तर प्रतिबद्ध रहेको र बजारको आवश्यकता तथा उपलब्ध नियमावली, विनियमावली र कार्यविधिअनुसार काम गर्दै आएको पनि बताए ।

Share News