काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार समिति सभापति प्रियराज रेग्मीले पुँजी बजारमा देखिएका समस्या समाधान तथा नीतिगत सुधारको प्रभावकारी कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने बताएका छन् ।
बुधवार (आज) अर्थ समितिमा भएको पुँजीबजारसम्बन्धी छलफलमा रेग्मीले नेप्सेमा रणनीतिक साझेदार भित्र्याउनु पुँजी बजार सुधारको पूर्वसर्तजस्तै रहेको बताए ।
रणनीतिक साझेदारबिना सरकारले घोषणा गरेका कार्यक्रम तथा नेपाल धितोपत्र बोर्डले अघि सारेका नीतिगत सुधार कार्यान्वयन गर्न कठिन हुने उनको भनाइ छ ।
रेग्मीले पुँजी बजारका ब्रोकर, मर्चेन्ट बैंकरलगायत व्यवसायीको स्तरीकरण र मानकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । निश्चित मापदण्ड बनाएर उनीहरूलाई सुधार प्रक्रियामा सक्रिय रूपमा सहभागी गराउनुपर्ने उनले बताए ।
‘नेपाल सरकारले घोषणा गरेका कार्यक्रम तथा धितोपत्र बोर्डले सुधार गरेका वा सुधार तथा परिमार्जन गर्न लागेका नीति–नियम कार्यान्वयन गर्न नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नु पूर्वसर्तजस्तै देखिन्छ,’ उनले भने, ‘अन्यथा यी सुधार कार्यान्वयन गर्न सहज हुँदैन ।’
सामाजिक सञ्जालबाट हुने अनियन्त्रित सूचना प्रवाहले पनि पुँजी बजारमा भ्रम सिर्जना गरिरहेको रेग्मीले बताए ।
निःशुल्क परामर्श दिने नाममा गलत सूचना फैलाउने प्रवृत्तिले बजार प्रभावित भइरहेको भन्दै उनले सामाजिक सञ्जालबाट हुने गलत सूचना प्रवाहलाई नियमन गर्न आवश्यक रहेको बताए ।
त्यस्तै, बुक बिल्डिङ प्रणालीमार्फत आईपीओ निष्कासन प्रक्रियालाई प्रभावकारी बनाउन संस्थागत लगानीकर्ताको संख्या र भूमिका बढाउनुपर्ने उनको भनाइ छ ।
संस्थागत लगानीकर्तालाई बजारको चालक बनाउँदै व्यक्तिगत लगानीकर्ताको हित संरक्षण गर्ने व्यवस्था आवश्यक रहेको रेग्मीले बताए ।
संस्थागत लगानीकर्ताको सहभागिता बढाउन करसम्बन्धी व्यवस्था पनि सुधार गर्नुपर्ने उनले बताए । व्यक्तिगत र संस्थागत लगानीकर्ताबीच करको दरमा रहेको ठूलो भिन्नताले संस्थागत लगानीलाई निरुत्साहित गरेको उनको भनाइ छ ।
‘व्यक्तिगत रूपमा कारोबार गर्दा पाँच प्रतिशत कर तिर्नुपर्ने अवस्थामा संस्थागत रूपमा लगानी गर्दा ३० प्रतिशत कर तिर्नुपर्ने हो भने संस्थागत लगानीकर्ता किन आकर्षित हुन्छन् ?’ उनले प्रश्न गरे ।
संस्थागत लगानीकर्ताको सहभागिता नबढेसम्म व्यक्तिगत लगानीकर्ताले मात्रै बजार सञ्चालन गर्ने अवस्था रहने र त्यसले बजारमा अस्थिरता कायम रहन सक्ने रेग्मीले बताए ।
यसैगरी, नेप्सेको बजार पुँजीकरण तथा सूचक गणना प्रणालीमा पनि सुधार आवश्यक रहेको उनले बताए ।
सूचक गणना गर्दा बजारमा कारोबारका लागि उपलब्ध ‘फ्लोट सेयर’लाई आधार बनाउनुपर्नेमा जोड दिँदै उनले यसबाट बजारको वास्तविक अवस्थालाई सूचकले प्रतिबिम्बित गर्न सक्ने बताए ।
रेग्मीका अनुसार पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नेप्सेको संरचनागत सुधार, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, पुँजी बजार व्यवसायीको मानकीकरण तथा बजारसम्बन्धी सूचना प्रवाहको नियमनलाई प्राथमिकता दिन आवश्यक छ ।