भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ६८ हजारलाई दिइयो हैजाविरुद्धको खोप

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न नदिन सरकारले स्वास्थ्य निगरानी, मानसिक स्वास्थ्य परामर्श तथा हैजाविरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नुवाकोट, रसुवा, काठमाडौं र धादिङका २९ वटा होल्डिङ सेन्टर तथा सेल्टरमा स्वास्थ्य निगरानीसँगै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान भइरहेको छ ।

महाशाखाको ३२औँ स्थिति प्रतिवेदनअनुसार पछिल्लो २४ घण्टामा होल्डिङ सेन्टर तथा सेल्टरबाट पाँचवटा स्वास्थ्यसम्बन्धी केस रिपोर्ट भएका छन् । तीमध्ये चार जनामा खोकीसहितको ज्वरो र एक जनामा तीव्र झाडापखाला देखिएको छ । प्रभावित क्षेत्रमा जनावरको टोकाइको घटना भने रिपोर्ट भएको छैन ।

प्रभावित क्षेत्रमा ज्वरो तथा झाडापखालाजन्य रोगको अवस्था निगरानी गर्न मानसिक स्वास्थ्य हेल्पलाइन तथा अनलाइन रिपोर्टिङ प्रणाली मार्फत नियमित अनुगमन भइरहेको महाशाखाले जनाएको छ । रिपोर्ट भएका बिरामीको स्थानीय तहबाट उपचार तथा व्यवस्थापन भइरहेको छ ।

मानसिक स्वास्थ्यलाई प्राथमिकता

बाढीबाट प्रभावित नागरिकमा देखिन सक्ने मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्यालाई सम्बोधन गर्न मनोचिकित्सक, क्लिनिकल मनोवैज्ञानिकलगायत विशेषज्ञ टोली परिचालन गरिएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २४६ जनाले स्थलगत मनोसामाजिक परामर्श सेवा लिएका छन् भने एक जनालाई हेल्पलाइनमार्फत सहयोग गरिएको छ । जिल्लागत रूपमा नुवाकोटमा २८, रसुवामा १९ र धादिङमा सात जना मानसिक स्वास्थ्य टोलीका सदस्य परिचालन भएका छन् । असोज १३ सम्म नुवाकोटमा ११५, रसुवामा ७१, काठमाडौंमा ३५ र धादिङमा २५ जनाले मानसिक स्वास्थ्य सहायता तथा परामर्श लिएका छन् ।

महाशाखाले मनोसामाजिक सेवा प्रभावकारी बनाउन परामर्शदाताका लागि आचारसंहिता निर्माण, सूचना–शिक्षा तथा सञ्चार सामग्री वितरण र विशेषज्ञ सेवाका लागि बिरामी पठाउने प्रणालीलाई समेत सुदृढ बनाएको जनाएको छ ।

६८ हजारभन्दा बढीले लगाए हैजाविरुद्धको खोप

बाढी प्रभावित क्षेत्रमा पानी तथा सरसफाइजन्य रोगको जोखिमलाई ध्यानमा राख्दै मुखबाट खुवाइने हैजाविरुद्धको खोप अभियानसमेत जारी छ।

रसुवामा हालसम्म १६ हजार ७५६ जनाले हैजाविरुद्धको खोप लगाएका छन् । यो जिल्लाको कुल लक्षित जनसंख्याको ५३ प्रतिशत हो । गोसाइँकुण्डमा ४२ प्रतिशत, उत्तरगयामा ४६ प्रतिशत, आमाछोदिङ्मोमा ५४ प्रतिशत र कालिका गाउँपालिकामा ६७ प्रतिशत खोप कभरेज भएको छ ।

त्यस्तै, नुवाकोटमा ५१ हजार २६६ जनाले खोप लगाइसकेका छन् । यो कुल लक्ष्यको ६७ प्रतिशत हो । बेलकोटगढी नगरपालिकामा शतप्रतिशत खोप कभरेज भएको छ भने तारकेश्वर गाउँपालिकामा ७४ प्रतिशत, किस्पाङमा ६७ प्रतिशत र विदुरमा ६० प्रतिशतले खोप लगाएका छन् । रसुवा र नुवाकोटमा मात्रै ६८ हजार २२ जनाले हैजाविरुद्धको खोप लगाइसकेका छन् ।

यसैबीच प्रभावित क्षेत्रमा सम्भावित महामारी रोकथामका लागि दादुरा–रुबेला खोप अभियानको तयारीसमेत भइरहेको महाशाखाले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा रोगको जोखिम कम गर्न स्वास्थ्यसम्बन्धी रोकथामका उपाय, थप अनुसन्धान, नियमित अनुगमन र सम्बन्धित निकायबीच समन्वयलाई निरन्तरता दिइरहेको विभागले जनाएको छ । 

Share News