२० वर्ष कैद सजाय भएका फरार कैदी पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका फरार कैदी राजकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार काठमाडौं महानगरपालिका–९ स्थायी ठेगाना भएका ६० वर्षीय श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३१ भिमसेनगोलाबाट पक्राउ गरिएको हो ।

श्रेष्ठले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका थिए । उनले २०६५ कात्तिक ११ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका थिए ।

प्रहरीका अनुसार २०८२ भदौ २४ गते भएको आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। त्यसपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएको विशेष सूचनाका आधारमा सीआईबीबाट खटिएको टोलीले उनलाई २०८३ असोज १३ गते पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय सुन्धारा पठाइएको सीआईबीले जनाएको छ ।

सीआईबीले आफ्नो टोलछिमेकमा अपराध गरी लुकेर बसेका व्यक्तिबारे जानकारी भए प्रहरीलाई सूचना दिनसमेत आग्रह गरेको छ ।

Share News