गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्ने मल्ल पक्राउ

काठमाडौं । गृहमन्त्रीका सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गर्ने एक व्यक्ति पक्राउ परेका छन्। 

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- ४ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- ५ बस्दै आएका ३७ वर्षीय आशिष मल्ल भन्ने धर्मराज मल्ललाई पक्राउ परेका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक मर्यादा एवं वैयक्तिक प्रतिष्ठामा असर पर्ने किसिमको अडियो प्रसारण भएको विषयमा सोधपुछ गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको परिसरका प्रवक्ता दानबहादुर थापाले बताए ।

सामाजिक सञ्जालमा प्रसारित अडियोको वास्तविकता बुझ्न प्रहरीले मल्लसँग सोधपुछ गर्न खोजेको थियो। उनले खटिएको प्रहरी टोलीलाई गालीगलौज गर्नुका साथै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेका थिए । 

उनलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । मल्लविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा म्याद थपका लागि पेस गरिएकामा अनुसन्धानका लागि दुई दिनको म्याद थप भएको छ ।

बाँकेमा ६ वटा मुद्दा दर्ता

प्रहरीका अनुसार मल्लको  विवरण जाँच गर्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा उनीविरुद्ध विभिन्न समयमा ६ वटा मुद्दा दर्ता भएको खुलेको छ।

दूरसञ्चार ऐनसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय बाँकेमा दूरसञ्चार ऐनअन्तर्गत मुद्दा दर्ता रहेको छ। उक्त मुद्दामा मल्ल फरार रहेको प्रहरी अभिलेखमा उल्लेख छ।

अभद्र व्यवहारसम्बन्धी कसुर,मल्लविरुद्ध अभद्र व्यवहारसम्बन्धी अर्को मुद्दासमेत जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता रहेको छ। बैंकिङ कसुर, बाँके प्रहरीमा मल्लविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा पनि दर्ता रहेको प्रहरी अभिलेखबाट खुलेको छ।

अभद्र व्यवहारसम्बन्धी अर्को मुद्दा, उनीविरुद्ध अभद्र व्यवहारकै कसुरमा थप अर्को मुद्दा दर्ता रहेको छ।
अभद्र व्यवहारसम्बन्धी तेस्रो मुद्दा, प्रहरी अभिलेखअनुसार अभद्र व्यवहारसम्बन्धी अर्को मुद्दा पनि उनीविरुद्ध दर्ता रहेको छ ।

ठगीसम्बन्धी कसुर, मल्लविरुद्ध ठगीसम्बन्धी कसुरमा समेत जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

मल्लविरुद्ध दूरसञ्चार ऐन, बैंकिङ कसुर, ठगी तथा अभद्र व्यवहारसम्बन्धी गरी जम्मा ६ वटा मुद्दा बाँके प्रहरीमा दर्ता रहेको खुलेको हो।

Share News