काठमाडौं । मनाङः मनाङको सदरमुकाम चामेमा बाढीबाट प्रभावित बनेका सबै नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
बाढीपीडितहरूका लागि नेपाली सेनाको ब्यारेकभित्र रहेको फुटबल मैदानमा टेन्ट निर्माण गरी सामूहिक रूपमा सुरक्षित राखिएको हो ।
लगातारको बाढी र प्रतिकूल मौसमका बीच स्थानीय प्रशासन तथा सुरक्षा निकायले उद्धार कार्यलाई तीव्र बनाएका छन् ।
यसैबीच, उपल्लो मनाङ क्षेत्रमा हिमपहिरोमा फसेका व्यक्तिहरूको उद्धारका लागि तालिमप्राप्त विशेष टोली परिचालन गरिएको छ ।
खराब मौसमका कारण उद्धारका लागि पठाइएको हेलिकप्टर चामेमा अवतरण गर्न नसकी फर्कनुपरे तापनि, सोही हेलिकप्टर प्रयोग गरी उद्धार टोलीलाई भने प्रभावित उपल्लो क्षेत्रतर्फ खटाइएको छ ।
मौसममा सुधार आउनेबित्तिकै थप राहत सामग्री पठाउने र उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको सुरक्षा निकायले जनाएको छ ।