डिस्कोर्डमा जबरालाई ‘थ्रेट’, रातारात सुरक्षित स्थानमा लगियो

प्रहरी भन्छ- कारबाही होइन, सुरक्षा दिएका हौँ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई डिस्कोर्डमा सुरक्षाको थ्रेट आएपछि  सुरक्षाका लागि प्रहरीले नियन्त्रणमा लिएको खुलेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सुरक्षित स्थानमा राखिएको जनाएको छ ।

डिस्कोर्डमा एक व्यक्तिले जबराको घर घेराउ गर्ने, आक्रमण र घर जलाउनेसम्मको सूचना डिस्कर्डमा आएपछि उनको सुरक्षाका लागि तत्काल सुरक्षित स्थानमा ल्याइएको कार्यालयका प्रमुख सन्तोष खडकाले विकासन्युजलाई बताए ।

उनको सुरक्षा नितान्त सुरक्षाबाहेक अन्य कारण नभएकाले जबरालाई सुरक्षित स्थानमा राखिएको उनको भनाइ छ । जबरालाई कुनै कानुनी कारबाहीका लागि नभई सुरक्षाका कारण सुरक्षित स्थानमा राखिएको उनले स्पष्ट पारे । 

‘राणाको घरमा समेत सुरक्षाकर्मी तैनाथ गरिएको छ,’ खडकाले भने,’ उनलाई मात्र थ्रेट आएको छ । परिवारलाई सुरक्षाको कुनै खतरा छैन ।’ 

प्रहरीले उनलाई निवासमा १२ बजे उद्धार गरेको उनको भनाइ छ । प्रहरीले सुरक्षाको थ्रेट भएकाले उद्धार गरिएको उनले उल्लेख गरे । 

उनीविरुद्ध कुनै कसुर वा उजुरी नपरेको उनले जानकारी दिए । डिस्कोर्डमा पहिलेदेखि उनीविरुद्ध सुरक्षा थ्रेटको चेतावनी आइरहेको उनले बताए । 

‘हामीलाई विशेष सूचना प्राप्त भएकाले समयमा सचेत भएर सुरक्षित स्थानमा लगिएको छ,’ उनले भने ।

Share News