काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ मा रहेको धाप ड्याम पूर्णरूपमा सुरक्षित रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
सिँचाइ विभागअन्तर्गतको नागमती तथा धाप बाँध आयोजनाले शनिबार विज्ञप्ति जारी गर्दै भारी वर्षापछि पनि ड्याम र यसको मुख्य संरचनामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो ।
केही दिनअघि सामाजिक सञ्जालमा धाप ड्यामको सुरक्षाबारे प्रश्न उठेपछि आयोजनाले ड्यामको वास्तविक अवस्था देखाउने भिडियोसमेत सार्वजनिक गरेको छ ।
आयोजनाका अनुसार लगातारको वर्षाका कारण जलाशयमा पानीको बहाव बढेपछि प्राविधिक टोलीले ड्यामको अवस्था, पानीको सतह र पानीको आवागमन निरन्तर निगरानी गरिरहेको छ ।
गत भदौ २४ गते साँझ स्याडल ड्याम–१ नजिक सडक किनारामा पहिरो गएपछि तत्काल सुरक्षाका उपाय अपनाइएको थियो । त्यसयता आउटफ्लोमार्फत प्रतिक्षण करिब ४०० लिटर पानी बाहिर निकालिएको आयोजनाले जनाएको छ ।
यसबाट जलाशयको पानीको सतह २.३८ मिटरले घटेको छ । अहिले ड्याममा सञ्चित पानीको करिब ३५ प्रतिशत सुरक्षित रूपमा निकासा गरिसकिएको पनि आयोजनाले जानकारी दिएको छ ।
आयोजनाका अनुसार धाप ड्यामको सामान्य जलसतह २०८७.१४ मिटर हो । यदि आगामी दिनमा भारी वर्षा भएर पानी त्योभन्दा माथि पुगेमा अतिरिक्त पानी स्पिलवेमार्फत स्वतः बाहिर जाने व्यवस्था रहेको छ ।
आयोजनाले पहिरो प्रभावित क्षेत्रमा पानी निकास, तटबन्ध र अन्य आपत्कालीन व्यवस्थापनका काम पनि भइरहेको जनाएको छ ।
ड्यामको सुरक्षा र प्राविधिक मूल्याङ्कन निरन्तर भइरहेकाले सर्वसाधारणलाई अनावश्यक त्रास नमान्न र आधिकारिक सूचनामात्र विश्वास गर्न आयोजनाले आग्रह गरेको छ ।