काठमाडौं । लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
कैलाली र कञ्चनपुरबाहेक प्रदेशका सबै पहाडी जिल्लामा शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको हो ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखेर सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम रहेकाले यस्तो निर्णय गरिएको हो ।
रोक लगाइएको अवधिमा पहाडी जिल्लामा छोटो तथा लामो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन गर्न पाइने छैन । तराईका कैलाली र कञ्चनपुरमा भने जोखिम तुलनात्मक रूपमा कम रहेकाले सवारीसाधन सञ्चालन भइरहेका छ न्।
ट्राफिक प्रहरीले सूचना थाहा नपाई पहाडतर्फ गइरहेका केही सवारीसाधनलाई कैलालीको खानीडाँडामा रोकेर फर्काइएको जनाएको छ ।
सुदूरपश्चिमका नौवटै जिल्लामा शुक्रबारदेखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेकाले प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।