नारायणी नदीमा बाढी : सुस्ताबाट २९ जनाको उद्धार

काठमाडौं । अविरल वर्षाका कारण नारायणी नदीमा जलसतह बढ्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्तामा बस्ती डुबानमा परेको छ । डुबानमा परेका २९ जना स्थानीय बासिन्दालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

असोज ९ गते परेको अविरल वर्षापछि नारायणी नदीको बहाव बढेर थारुटोलाका घरमा पानी पसेको थियो । त्यसपछि असोज १० गते बिहान करिब पौने ९ बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमाण्डमा २१ जनाको टोली उद्धारमा खटिएको थियो । टोलीले डुबानमा परेका २९ जना स्थानीयलाई सुरक्षित रूपमा उद्धार गरेको हो ।

मानवीय उद्धारसँगै सशस्त्र प्रहरीले एक गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको छ । उद्धार गरिएका स्थानीय बासिन्दा र चौपायालाई सुस्ता गाउँपालिका–५ मा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलले थप उद्धार तथा सहयोगका कामलाई निरन्तरता दिइरहेको जनाएको छ ।

Share News