काठमाडौंको मौसमः साँझ वर्षा र हावाहुरी चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार दिनभर मौसम खुले पनि साँझतिर हल्का वर्षासँगै हावाहुरी चल्ने जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले विकासन्युजसँग कुरा गर्दै काठमाडौंमा आज साँझ हल्का वर्षाको सम्भावना रहे पनि ठूलो वर्षाको जोखिम नरहेको बताए । तर, हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्क रहन उनले आग्रह गरे । 

‘काठमाडौंमा आज साँझ हल्का पानी पर्ने सम्भावना छ। तर, अहिलेको मुख्य जोखिम हावाहुरीको हो,’ लामिछानेले भने ।

बिहीबार र शुक्रबार देशका अधिकांश क्षेत्रमा लगातार वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो । काठमाडौं उपत्यकामा दिनभर झरी पर्दा बागमतीसहित नदी–खोलाको बहाव बढेको थियो।

महाशाखाका अनुसार पश्चिमी नेपालका केही क्षेत्रमा भने आज र आइतबार पनि वर्षा जारी रहने सम्भावना छ। त्यहाँ भारी वर्षासँगै बाढीको जोखिम समेत कायम रहेको लामिछानेले बताए ।

उनका अनुसार काठमाडौंमा आइतबार पनि साँझको समयमा हल्का वर्षा हुन सक्छ । सोमबारदेखि भने मौसम क्रमशः खुल्दै जाने र वर्षाको गतिविधि कम हुने अनुमान गरिएको छ ।

मौसम महाशाखाले विशेषगरी पश्चिमी भेगका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र हावाहुरीको सम्भावना रहेका स्थानमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

Share News