काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज सामाजिक सञ्जाल फेसबुकमा सक्रिय छन् । सार्वजनिक भेटघाटदेखि अन्तर्राष्ट्रिय मञ्चका गतिविधिसम्मका विषय उनी नियमित रूपमा फेसबुकमा सार्वजनिक गर्छन् । तर, पछिल्लो समय उनको फेसबुकमा गरिएको एउटा पोस्टले विशेष ध्यान खिचेको छ- नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटको तस्बिर ।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन विभिन्न देशका सरकार प्रमुख अहिले अमेरिकामा छन् । यही क्रममा शुक्रबार अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले प्रधानमन्त्री शाहसँग संयुक्त राष्ट्रसङ्घमा भेटवार्ता गरे ।
भेटका क्रममा अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितप्रति समवेदना व्यक्त गरे । बाढीपछि नेपालमा बेपत्ता रहेका अष्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तप्रति आफ्नो ध्यान र सहानुभूति रहेको उनले उल्लेख गरे ।
नेपाल बाढीबाट प्रभावित भएर पुनःस्थापना र पुनर्निर्माणको चरणमा रहेकाले अष्ट्रेलिया नेपाली जनतासँगै उभिएको अल्बानिजले बताए । आवश्यक परेको स्थानमा सहयोग पुर्याउन अष्ट्रेलियाले नेपालसँग निरन्तर सहकार्य गर्ने उनको भनाइ थियो ।
अल्बानिजले प्रधानमन्त्री शाहसँगको भेटको तस्बिर फेसबुकमा पोस्ट गर्दै भेटबारे जानकारी दिएका छन् ।
फेसबुकमा अल्बानिजले विभिन्न अन्तर्राष्ट्रिय गतिविधिका तस्बिर तथा भिडियो नियमित रूपमा सार्वजनिक गर्दै आएका छन् ।
उनले संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गरेको भिडियोदेखि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेट गरेको भिडियोसम्म पोस्ट गरेका छन् । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै सेल्फी खिचेको तस्बिर पनि उनले फेसबुकमा राखेका छन् । ट्रम्पसँगको तस्बिरमा समाचार तयार पार्दासम्म २१ हजार लाइक, १२.९ हजार कमेन्ट र ७२४ सेयर भएका छन् ।
तर, बालेन्द्र शाहसँग खिचेको तस्बिरले भने अल्बानिजको फेसबुकमा फरक खालको प्रतिक्रिया पाएको देखिन्छ । समाचार तयार पार्दासम्म उक्त तस्बिरमा ३ लाखभन्दा बढी अर्थात् ३०१ के लाइक, ९ हजारभन्दा बढी कमेन्ट र ३.२ के सेयर भएका छन् ।
अल्बानिजको फेसबुकमा सार्वजनिक गरिएका विभिन्न पोस्टमध्ये यही तस्बिरमा सबैभन्दा बढी लाइक आएको देखिन्छ ।